सप्तरी – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी लिन आएको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग उपप्रमुख क्वो येचौ नेतृत्वको टोली स्वदेश फर्केको छ ।आइतवार नेपाल आएको टोलीले बहुपक्षीय परामर्श गरेर स्वदेश फर्किएको हो । प्रतिनिधि सभा विघटन र नेकपामा विभाजनको स्थिति सिर्जना भएपछिको स्थितिबारे चिनियाँ टोलीले नेपालमा विभिन्न पक्षसँग छलफल गरेको थियो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतसँग टोलीले नेकपा विभाजन रोक्नका लागि गर्न सकिने पहलबारे छलफल गरेको थियो ।चिनियाँ टोलीले सभामुख अग्नि सापकोटा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग पनि नेपालको राजनीतिक संकटको विषयमा छलफल गरेको थियो । ओली, प्रचण्ड र नेपालसँगको भेटमा चिनियाँ टोलीले नेकपा विभाजन रोक्न र मिलेर जान सुझाव दिएको थियो ।
टोलीले नेकपाका दोस्रो पुस्ताका नेताहरूसँग समेत अनौपचारिक छलफल गरेको थियो ।हिमालयन एयरलाइन्सको विमानमार्फत चिनियाँ टोली बुधवार स्वदेश फर्केको हो ।