
राजविराज सप्तरी – असार २२ – सप्तरी युथ नेपालको आयोजनामा राजविराजमा सम्पन्न नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समूह ‘ए’ तथा ‘बी’ दुवै तर्फ उपाधि क्रमशः हिरानन्द झा – उमेश गुप्ता र कर्ण बहादुर लिम्बु – महाकान्त चौधरीको जोडिले हात पार्न सफल भएका छन्।

दुई दिने प्रतियोगिता असार २१ र २२ गते राजविराज नगरपालिका–९ स्थित कोर्टमा सम्पन्न भएको हो। प्रतियोगितामा समूह ‘ए’ तर्फ २४ जोडि र समूह ‘बी’ तर्फ २१ जोडिको सहभागिता रहेको थियो। 
समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा हिरानन्द झा र उमेश गुप्ताको जोडिले दीपक गुप्ता र बुद्ध सागर चौधरीको जोडिलाई सोझो सेटमा २१–११ र २१–१९ को अंकले पराजित गर्दै उपाधि जिते।

त्यस्तै, समूह ‘बी’ तर्फको फाइनल खेलमा कर्ण बहादुर लिम्बु र महाकान्त चौधरीको जोडिले सुनिल परियार र सत्यनारायण चौधरीलाई सोझो सेटमा २५–२३ र २१–१२ को सहज जित हात पार्दै च्याम्पियन बने।

दुवै समूहमा तेस्रो स्थान दुई-दुई जोडिलाई प्रदान गरिएको थियो। समूह ‘ए’ मा उदयबीर नेपाली – रामकुमार देव र दिनेश यादव – पदम बुढाथोकीको जोडिले तेस्रो स्थान हात पारे भने समूह ‘बी’ मा सरोज तामाङ – नवीन चौधरी र रुद्र खड्का – अजय चौधरी तेस्रो स्थानमा रहेका थिए।
प्रतियोगितामा विजयी हुने समुह ए को टोलीलाई क्रमशः रु. २०,००० (प्रथम), रु. १०,००० (दोस्रो), र रु. ५,००० (तेस्रो) नगद राशिसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने समुह बि तर्फ क्रमशः रु. १५,००० (प्रथम), रु. ८,००० (दोस्रो), र रु. ४,००० (तेस्रो) नगद राशिसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो

प्रतियोगिताको समापन समारोहमा कार्यवाहक नगरप्रमुख ईसरत प्रविण, प्रमुख जिल्ला अधिकारी भोला दाहाल न्यायाधीश दीपक दाहाल, वडा नं. २ को वडा अध्यक्ष अरूण यादव र ८ का वडा अध्यक्ष जयनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो।
सप्तरी युथ नेपालका अध्यक्ष मोहन यादवका अनुसार प्रभावकारी रूपमा सम्पन्न यस प्रतियोगिता खेलकुदको माध्यमबाट युवालाई सशक्त र अनुशासित बनाउने उद्देश्यले आयोजना गरिएको हो। उनले आगामी दिनमा अझ स्तरीय प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।