
सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले त्यसविरुद्ध मोर्चाबन्दी नै गरे ।
तर त्यो मोर्चाबन्दी दुई दिन पनि टिक्न सकेन । तीन वटै दलले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै आए पनि सडकमा एकसाथ विरोध प्रदर्शनमा उत्रन सकेका छैनन् । तीनवटै दल आ–आफ्नै ढंगका कार्यक्रम बनाएर प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि यी तीनै दल सिंहदरवारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भेला भएर आपतकालीन बैठककै शैलीमा छलफल गरे । बैठकबाट प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमको विरोध गर्दै संयुक्त रुपमा आन्दोलन गर्ने सहमति गरियो । त्यो बैठकलाई तीनवटै दलका नेताहरुले अनौपचारिक बैठक भनेका थिए । भोलिपल्ट अर्थात् पुस ६ गते पुनः तीन दलको बैठक काँग्रेसको पार्टी कार्यालय सानेपामा बसेको थियो । त्यो बैठकबाट पनि प्रधानमन्त्री ओलीको कदमविरुद्ध सशक्त आन्दोलन गर्ने र त्यसअघि आ–आफ्नो पार्टीको बैठकमा यसबारे छलफल गर्ने सहमति भयो ।
त्यसको भोलिपल्ट अर्थात् पुस ७ गते तीनवटै दलको आ–आफ्नै बैठक बस्यो । तर तीनवटै पार्टीले ओलीको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय त गरे, तर छुट्टाछुट्टै । तीनवटै दल आ–आफ्नै ढंगले विरोधका कार्यक्रम ल्याएर सडकमा एक्लाएक्लै उत्रिएका छन् । त्यसपछि न ती तीन दलको बैठक बस्यो, न कुनै छलफल नै भयो ।जसपा नेपालका कार्यकारिणी समितिका सदस्य मनिष सुमनका अनुसार पहिलो दिन अनौपचारिक बैठक बसेर तीन दलबीच पछिल्लो राजनीतिक अवस्थाबारे सरसल्लाह भयो । अर्को बैठकबाट ठोस रुपले अगाडि बढ्ने सहमतिका साथ उक्त बैठक सकिएको उनले सुनाए । ‘अर्को दिनको बैठकमा आ–आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्ने कुरा भएको थियो तर त्यो छलफलपछि तीनै दलले आ–आफ्नै ढंगले आन्दोलनको घोषणा गरे,’ उनले भने ।तीन वटै दलले एकचरणको आन्दोलन सम्पन्न गरेको अवस्थामा अर्को चरणका लागि तीनवटै दल मिलेर अगाडि बढ्ने सम्भावना देखिएको उनको भनाइ छ । ‘ओलीको कदम गलत छ भन्नेमा तीनवटै दल एकमत छन्,’ उनले भने, ‘त्यसैले त्यो असंवैधानिक कदमविरुद्ध सँगै जान कुनै समस्या छैन ।’
प्रचण्ड–नेपाल समूहमा स्पष्टता नदेखिएको उनले बताए । ‘नेकपाको त्यो धार अहिले पार्टी स्पष्ट रुपमा अगाडि आएको छैन,’ उनले भने ।
एक अर्को स्रोतका अनुसार काँग्रेस र जसपा नेपालले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भन्नेमा प्रस्ट धारणा राखिसकेका छन् तर त्यसकै जगमा उभिएर प्रचण्ड–नेपाल समूहलाई साथ दिँदा नेकपाको आन्तरिक विवादमा हात हालेको जस्तो हुने भएपछि दुवै दलले संयुक्त आन्दोलनमा जान हिच्किचाएका हुनसक्छन् ।
‘नेकपाको आन्तरिक लडाईको कारण देशमा यो अवस्था आएको हो । अहिले पनि दुई पक्ष आन्तरिक लडाईमै अल्झिरहेका छन्,’ स्रोत भन्छ, ‘यस अवस्थामा प्रचण्ड–नेपाल समूहलाई साथ दिनु गलत हुनसक्ने आन्तरिक निष्कर्ष काँग्रेस र जसपाको छ ।’
काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पनि यही आशय प्रकट गरे । उनले भने, ‘संयुक्त रुपमा आन्दोलनमा जाने कुरा भएको हो तर आ–आफ्नो पार्टीमा निर्णय गरेरमात्र । काँग्रेसको केन्द्रीय कमिटीको बैठकले तीनवटै दलको गठबन्धन बनाएर आन्दोलनमा जाने निर्णय गरेन, १९ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय भएको छ, त्यो सफल भएपछि पुनः बस्ने केन्द्रीय समितिको बैठकले के निर्णय गर्छ, त्यसमा भर पर्छ । तर हाललाई काँग्रेसले एक्लै आन्दोलन गर्ने निर्णय गरेको छ ।’तर प्रधानमन्त्री ओलीको कदम निरकुंश र अलोकतान्त्रिक रहेको कुरामा तीनवटै दलको एकमत रहेको उनले बताए ।अर्को स्रोतका अनुसार भारतले जसपा र काँग्रेसले प्रचण्ड–नेपाल समूहसँग मिलेर गठबन्धन बनाओस् भन्ने चाहेको छैन । यी तीन दलको बीचमा दुईटा बैठक बस्यो । त्यसपछि भारतको इशारा पाएर काँग्रेस र जसपा पछाडि हटेको उक्त स्रोतको दावी छ । प्रचण्ड–नेपाल समूह र ओलीबीच पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुंगिएपछि मात्र कोसँग मिलेर गठबन्धन बनाउने भन्नेबारे छलफल हुने उक्त स्रोत बताउँछ ।
तर जानकारहरुका अनुसार नेकपाको बारेमा निर्वाचन आयोगबाट आधिकारिकताको निर्णय आएपछि ओली नेतृत्वको पार्टी, काँग्रेस र जसपाबीच गठबन्धन बन्नसक्छ । त्यसका लागि आवश्यक तयारी भइरहेको स्रोतको भनाइ छ ।