
सप्तरी – धनगढी उपमहानगरपालिका– १०, का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि भारतमा लुकेर बस्दै आएका रानालाई नेपालतर्फ आइरहेका बेला आइतबार राती धनगढी– १९, फुलबारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम शम्शेर जबराले बताए ।
पक्राउ परेका रानालाई प्रहरीले आजै अदालतमा पेश गर्ने तयारी गरेको छ ।धनगढी–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको गत १ कार्तिकको राति हत्या गरेको थियो । राती गस्तीमा गएका साउँद र बिकको हत्या नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने समूहले गरेको खुलेको थियो ।हत्या अभियोगमा पक्राउ परेका आठ जना अभियुक्त पुरपक्षका लागि यसअघि नै कारागार चलान भइसकेका छन् । धनगढी–१०, का पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, चोर भनिने ३० वर्षका सुरेश राना, गब्बर भनिने २५ वर्षका राजकुमार राना र २२ वर्षका रामनिवास राना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।यस्तै हत्याका अभियुक्त टल्लु भनिने २९ वर्षका दलराम राना, गोपाल भनिने २५ वर्षका रामगोपाल राना र २० वर्षीय रोहित राना पनि कारागार चलान भएका छन् । उनीहरु घटनालगत्तै पक्राउ परेका थिए ।प्रहरी हत्या घटनासँग जोडिएको मटरको तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी राजिव गुप्ता भने एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । नेपालबाट भारततर्फ केराउ तस्करी भइरहेको बेला रोक्न खोजेपछि प्रहरीको हत्या भएको थियो ।
तस्करले दुवै जनाको हत्या गरी नेपाल–भारत सीमा क्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए । हत्याका मुख्य योजनाकार सुकबहादुर रहेको प्रहरीले बताएको छ ।