सप्तरी – प्रतिनिधिसभाको विघटन पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा फुट्न मात्र बाँकी छ । प्रदेश १ र वागमतीमा त नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव पनि दर्ता गराइसके । ओली निकट मुख्यमन्त्री रहेका गण्डकी र वागमतीमा पनि मुख्यमन्त्रीको बहुमत नपुग्ने निश्चित छ ।
तर, अविश्वासको प्रस्ताव भने आइसकेको छैन । गण्डकीमा भने ओलीइतरका प्रचण्ड–माधव पक्षका १३ जना सांसदहरु छन् ।
६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा अविश्वासको प्रस्ताव ल्याउन चाहिँ एकचौथाई सांसद चाहिन्छन् । जुन ओलीइतरसँग छैनन र यहाँ तत्कालै अविश्वासको प्रस्ताव आउने सम्भावना छैन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तीन प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चाको समर्थन कायमै छ । मुख्यमन्त्री जोखिममा छन्, तर एउटा सांसद तान्न सके सरकार चाहिँ बनाउन सक्छन् । उनले तान्ने सांसद चाहिँ ओलीइतरका हुनेछन् ।अर्कातर्फ प्रचण्ड माधव पक्षले पनि ओलीपक्षका सांसदहरु तान्ने कसरतमा लागेको छ । ओलीपक्षका सांसद तान्ने र अन्य प्रतिपक्षीको साथ लिएर अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी यो पक्षको छ ।यसैक्रममा सोमबार नेकपाका दुवै पक्षले फरकफरक समयमा संसदीय दलको बैठक राखेका छन् । गण्डकीको संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ हुन् । एकीकृत संसदीय दलको बैठक उनको अध्यक्षतामा चल्नेछ । अर्कातर्फ पूर्वमाओवादीबाट निर्वाचित रामजी बराल जीवनले ओलीइतर पक्षको भेला बोलाएका छन् । उक्त बैठकमा पूर्वएमालेबाट निर्वाचित सांसद इन्द्रलाल सापकोटा पनि सहभागी छन् ।सापकोटाले भने, “म बैठकमा सहभागी हुनेछु, संसदीय दलको बैठक हो ।” यता, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले चाहिँ संसदीय दलको बैठक ४ बजे बोलाइएको जानकारी दिए । तर, ओलीइतरका सांसदहरु चाहिँ साँझ ४ बजेको बैठकमा सहभागी नहुने जानकारी दिए । बैठकमा पूर्वमाओवादीका दुई मन्त्री पनि सहभागी छन् । बिहान ११ बजे ओलीइतरका सांसदको भेला छ । यो भेलामा सहभागी हुने सांसदहरु साँझको बैठकमा नजाने बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री हरि चुमान बैठकमा सहभागी हुने र साँझको बैठकमा नजाने जानकारी दिए ।
मन्त्री चुमानले दल फरक भएता पनि सरकारमा चाहिँ सहभागी हुने र यसैलाई निरन्तरता दिने मत राखिरहेका छन् ।“साँझको बैठमा चाहिँ गइँदैन । पार्टी अलग भएपछि दल पनि अलग हुनेभयो । हिजो जुन अवस्था थियो, त्यही अवस्थामा फर्किने हो । हिजो अलग दल हुँदा पनि मिलेर गएका थियौँ, अहिले पनि सोही स्थितिमा जान सकिन्छ भन्ने कुरा गरेको हो,” उनले भने ।समझदारी गरेर अहिले पनि यही सरकारलाई निरन्तरता दिन सकिने उनले बताए । “दल अलग हुनुको मतलब अविश्वासको प्रस्ताव लिएर जानैपर्ने भन्ने त छैन नि ! समझदारीको कुरा हो, हिजोको समझदारी कायम गर्नुपर्छ भन्ने हो । हामी त पार्टी एकताकै पक्षमा थियौँ, हाम्रा कारणले पार्टी फुटेको त होइन,” “हाम्रो कदमले संघीयतामाथि आँच नआओस भन्ने मेरो भनाई हो । केन्द्रकाले त संघीयतालाई कमजोर त पारिहाले । जे गर्दा संघीयता मजबुत हुने हो त्यही गरौँला,” उनको भनाई छ ।एकीकृत बैठकमा सहभागी नहुँदा मुख्यमन्त्रीले कारवाही गरेमा चाहिँ के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, “त्यो त उहाँको कुरा हो । हिजो पार्टी एक थियो, संसदीय दल नि एक थियो । अहिले फरक छ । मुख्यकुरा उहाँहरुको व्यवहारमा भर पर्छ । त्यैपनि पार्टीले के निर्णय गर्छ, त्यो मुख्य कुरा हो । मैले त यही ढंगले छलफलमा विचार राख्ने गरेको छु,” उनले भने ।तर, मन्त्री चुमानबाहेकका अन्य सांसदहरुले चाहिँ मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारीका साथ अन्य दलसँग निरन्तर परामर्श गरिरहेका छन् । सांसद रामजी बरालले यो भेलाप्रति लक्षित गर्दै “प्रतिगमनको विरुद्धमा रहेका सांसदहरुको बैठक” भन्न रुचाउँछन् ।बेलुका ४ बजे बोलाइएको बैठकलाई चाहिँ पृथ्वीसुब्बा गुरुङको बैठक रहेको र त्यहाँ आफूहरु नजाने उनले बताए ।
यता, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले चाहिँ सबैलाई बैठक हुनेबारे जानकारी दिइएको बताए । “हामीले बैठक बोलाएका छौँ, सबैलाई खबर गरेका छौँ । उहाँहरु आउनुहुन्न भने अर्कै दल बनाउनुभएको होला । उहाँहरु नआएतापनि बैठक चाहिँ बस्छ,” उनले भने ।