सप्तरी – सेयर ब्रोकर कमिसन घटेको पहिलो दिन नै सेयर बजार राताम्मे भएको छ । तर, यसबाट बजार ब्रोकर कमिसन घट्दा पनि किन बढेन भनेर प्रश्न गर्न सकिन्छ । तर, सेयर बजार बढ्नु र घट्नुमा विशेष कारण ब्रोकर कमिसनमात्रै होइन, हुँदैन । बजारलाई विस्तारित गर्न सरकारको भूमिका तथा राजनीतिक, सामाजिक तथा आर्थिक वातावरणको भूमिका प्रमुख हुन्छ ।
लगानीकर्ताले प्राविधिक विश्लेषणबाहेक सरकारको नीति, भूमिका तथा राजनीतिक, सामाजिक र आर्थिक वातावरणको आकलन गरेर नै लगानी गर्ने गर्छन् । पछिल्लो महिनामा सेयर बजारमा अत्यधिक उत्साह छाउनु पनि यस्तै कारणहरू थिए । राजनीतिक स्थिरतामा शंका थिएन, आर्थिक रूपमा पनि कोरोनाबाट प्रभावित अन्य उद्योग, व्यवसाय बिस्तारै तङ्ग्रिँदै थिए, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको छेलोखेलो थियो र सस्तो ब्याजदरले पनि सेयर बजारका लगानीकर्तालाई साथ दिएको थियो । त्यसमाथि सेयर बजारप्रति अनुदार मानिएका अर्थमन्त्रीको बहिर्गमन तथा सेयर बजारप्रति सकारात्मक मानिएका नयाँ अर्थमन्त्रीको आगमनले बजारलाई उत्साह थपेको थियो । तर एक साताअघि एकाएक राजनीतिक भूकम्प गयो ।
हेर्दाहेर्दै करिब दुईतिहाइ बहुमत भएको सत्तारूढ राजनीतिक दलभित्रको किचलोले नेपाली नागरिकको राजनीतिक स्थायित्वको सपना भताभुंगमात्र पारेन, लगानीकर्तालाई अनिश्चयको भुमरीमा फसाइदियो । बैंक तथा वित्तीय संस्थाहरूमा बिस्तारै लगानीयोग्य रकम कम हुन थालेको छ, जसको फलस्वरूप ब्याजदर बढ्ने खतरा बढ्दो छ । यसअघि चुनावी वर्षहरूमा सेयर बजार बढेको भए तापनि वैशाखमा चुनाव नहुने आकलन एकातिर छ भने अर्कातिर संविधानको धारामै नभएको संसद विघटन कति लामो जान्छ, अनुमान गर्न गा-हो छ । यसैबीच अर्थमन्त्रालयको पहलमा सेयर ब्रोकर कमिसन घटाएर बजारमा सकारात्मक सन्देश दिन सरकारले खोजेको छ । जसका कारण सेयर बजारमा फेरि हरियाली छाउने आशा पनि थियो ।
तर, साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारले भने उल्टो प्रतिक्रिया दिएको छ । सेयर बजारका सबै परिसूचक राताम्मे हुनुले बजारमा ब्रोकर कमिसन घटाएको खुसीभन्दा राजनीतिक अस्थिरताले प्रभाव पारेको देखिन्छ । साथै, बजारमा धमाधम कम्पनीहरू साधारणसभाको तैयारीमा बुक क्लोज गर्दैछन् । अर्थात् धितोपत्र बजारमा दर्ता भएर कारोबार गर्ने कम्पनीहरूले पुस समान्तसम्म आफ्नो वार्षिक साधारणसभा गरिसक्नुपर्नेछ । वार्षिक साधारणसभाका लागि उनीहरूको कम्पनीको सेयर खरिदबिक्री बन्द गरिन्छ । जसलाई बुक क्लोज भनिन्छ । बुक क्लोजभन्दा अगाडि किनेका सेयरको लाभांश किन्ने लगानीकर्ताले पाउँछ, तर बुकक्लोजपछि कारोबार खुलेका दिन किन्नेले लाभांश पाउन अर्को पुस कुर्नुपर्छ ।
त्यसैले पनि पुस मसान्ततिर आउँदा सेयर बजारमा कारोबार कम हुने र सेयर बजारमा मापक परिसूचक नेप्से घट्ने गर्छ । तर, घटेको बजारमा पनि आइतबार ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसबाट नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको कारण नै कारोबार रकम बढेको दाबी गर्न सकिन्न । सेयर बजारको नियामकीय निकाय बोर्डले कमिसनको हालको दर घटाएर सेयर कारोबारमा आइतबारदेखि लागू हुने गरी ०.२६८ प्रतिशतदेखि ०.४०२ प्रतिशतसम्म झारेको छ ।
लगानीकर्ताहरूले सेयर कारोबारको लागत घटाउन ब्रोकर कमिसन बढीमा ०.२५ प्रतिशतमा सीमित गर्नुपर्ने माग गर्दै आएका भए पनि धितोपत्र बोर्डले नयाँ व्यवस्थाअनुसार सेयर कारोबारमा अधिकतम सीमा ०.४ प्रतिशत र न्यूनमत सीमा ०.२७ प्रतिशत तोकेको हो । यसअघि ०.४० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म ब्रोकर कसिमन रहेको थियो । यस्तै, बोर्डले ऋणपत्र र सामूहिक लगानी कोषका योजनाका साथै अन्य धितोपत्रको किनबेचमा ब्रोकरले लिँदै आएको कमिसन पनि घटाएको छ । तर, बोर्डले ब्रोकर कमिसन घटाए पनि आफूले लिने ०.०१५ प्रतिशत र नेप्से, सीडीएससीले लिने कमिसनमा भने घटाएको छैन । यसअघि २०७३ सालमा ब्रोकर कमिसन घटेको थियो ।