सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर गरेका छन्। झण्डै ५ महिना लामो रस्साकस्सीपछि संसदले कोरोना महामारीबाट प्रभावितलाई राहत प्याकेज र खर्च विधेयक पारित गरेको थियो।
ट्रम्पले राहत चेक ६ सय डलरबाट २ हजार डलर बनाउनुपर्ने बताउँदै प्याकेजमा हस्ताक्षर गरेका थिएनन्। तर उनले आइतबार राति प्याकेजमा हस्ताक्षर गरेका हुन्। ट्रम्पले राहत चेक २ हजार डलर बनाउनुपर्ने बताए पनि रिपब्लिकन सांसदहरु यसमा असहमत भएका थिए।आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज ल्याइएको हो। गत मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो।राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ। वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन्। १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेकसमेत प्राप्त गर्न योग्य हुनेछन्।त्यस्तै बेरोजगारी बिमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी बिमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ। डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने प्याकेजमा उल्लेख छ।
राहत प्याकेजमा साना व्यवसायका लागि ऋण प्रदान गर्न ३ खर्ब १९ करोड डलर छुट्याइएको छ। २० अर्ब इकोनोमिक इन्जुरी डिजास्टर लोन अनुदानका लागि छुट्याइएको छ। १३ अर्ब पोषण कार्यक्रमका लागि छुट्याइएको छ भने १० अर्ब चाइल्ड केयर तथा ८२ अर्ब डलर शिक्षाका लागि छुट्याइएको छ ।