सप्तरी – सेयर किनबेचबापत लगानीकर्ताले तिर्नुपर्ने सेयर ब्रोकर कमिसन घटेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम शून्य दशमलव ४० प्रतिशत हुनेगरी कमिसन घटाएको हो । यसअघि ब्रोकर कमिसन अधिकतम शून्य दशमलव ६० प्रतिशतसम्म रहेको थियो । अब सेयर खरिदबिक्रीबापत लगानीकर्तासँग ब्रोकर (दलाल)ले अधिकतम शून्य दशमलव ४० प्रतिशत बढी लिन पाउनेछैनन् ।
बोर्डले साना लगानीकर्तालाई सेयर कारोबार सेवाबापत लिँदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र र सामूहिक लगानीकोषको इकाइ कारोबार शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयर खरिद बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशत कम हुनेगरी धितोपत्र कारोबारमा लाग्ने धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटाएको हो । बोर्डले आइतबारदेखि लागू हुनेगरी सेयर, ऋणपत्र र सामूहिक लगानीकोषको इकाइ खरिद बिक्रीमा तिर्नुपर्ने ब्रोकर कमिसन घटाएको जनाएको छ ।अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शून्य दशमलव ४० प्रतिशत, ५० हजारमाथि ५ लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखमाथि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, २० लाखभन्दा माथि १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिसन तिनुपर्ने व्यवस्था कायम भएको छ । बोर्डले हाल शून्य दशमलव २७ प्रतिशतदेखि शून्य दशमलव ४० प्रतिशत ब्रोकर कमिसन निर्धारण गरेको जनाएको छ ।नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज केसीले हाल अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिसन घटाउन माग गरेअनुरूप घटाइएको बताए । यसले लगानीकर्तामा थप उत्साह बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । बोर्डका प्रवक्ता केसीले यो नियम आइतबारदेखि लागू हुने जानकारी गराए ।
पछिल्लो समय दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिसन घटाउन माग गर्दै आएका थिए । ब्रोकर कमिसन नघटाई बोर्डका अध्यक्ष अमेरिका गएको भन्दै लगानीकर्ताले केही साता अघि मात्रै बोर्ड घेराउसमेत गरेका थिए । बोर्डका अध्यक्ष स्वदेश फर्किएको एक सातापछि शुक्रबार बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो । हालसम्म लगानीकर्ताले सेयर कमिसनबापत ०.६१५ प्रतिशत तिर्नुपर्ने व्यवस्था थियो । सेयर बिक्री गर्दा नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्छ । ५० हजारसम्मको कारोबारमा ०.६० प्रतिशत र त्यसभन्दा माथि ५ लाख रुपैयाँसम्म ०.५५ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने थियो ।यसैगरी, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म शून्य दशमलव ५० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.४५ प्रतिशत र १ करोड रुपैयाँदेखि माथि ०.४० प्रतिशत ब्रोकरलाई कमिसन र त्यसमाथि सेवा शुल्क भनेर नेपाल धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत रकम कमिसन तिर्नुपर्ने व्यवस्था थियो । यसैगरी, डीपी शुल्क भनेर प्रत्येक कारोबारमा २५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ ।पछिल्लो समय धितोपत्र बजारमा ८५ प्रतिशत बढी कारोबार अनलाइनमार्फत हुने गरेको तथा दैनिक कारोबारमा वृद्धि हुँदै गएकाले ब्रोकर कमिसन घटाउन आवश्यक रहेको बोर्डको भनाइ छ । बोर्डले ऋणपत्र तथा सामूहिक लगानीकोषको इकाइ बिक्रीको ब्रोकर कमिसन दर पनि घटाएको छ ।नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुनेगरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरिद बिक्री गर्दा ५ लाख रुपैयाँ सम्ममा शून्य दशमलव १० प्रतिशत, ५ लाखभन्दा माथि ५० लाख रुपैयाँ सम्ममा शून्य दशमलव शून्य ५ प्रतिशत र ५० लाखमाथिको जतिसुकै कारोबारमा शून्य दशमलव शून्य २ प्रतिशत ब्रोकर कमिसन निर्धारण गरेको बोर्डले जनाएको छ ।बोर्डका अनुसार ५ लाखसम्मको ऋणपत्र काराबोरमा शून्य दशमलव २० प्रतिशत, ५ लाखभन्दा माथि ५० लाखसम्मको कारोबारमा शून्य दशमलव १० प्रतिशत र ५० लाखमाथिको जतिसुकै कारोबारमा शून्य दशमलव शून्य ५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था थियो । त्यस्तै, सामूहिक लगानीकोषको ५ लाखसम्मको इकाइ खरिदबिक्रीमा शून्य दशमलव १५ प्रतिशत, ५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव १२ प्रतिशत र ५० लाखभन्दा बढीको कारोबारमा शून्य दशमलव १० प्रतिशत ब्रोकर कमिसन निर्धारण भएको हो ।
यसअघिको व्यवस्थामा ५ लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत, ५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव २५ प्रतिशत र ५० लाखमाथिको जतिसुकै कारोबारमा शून्य दशमलव २० प्रतिशत कमिसन रहेको थियो । यसैगरी, बोर्डले धितोपत्र दलाल व्यवसायीले ग्राहक एवं लगानीकर्ताबाट १० भन्दा घटी नहुनेगरी कमिसन घटाएको उल्लेख गरेको छ । सो कमिसनबाट सेयर ब्रोकरले शून्य दशमलव ६ प्रतिशत बोर्डलाई र शून्य दशमलव शून्य २ प्रतिशत नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई बुझाउनुपर्ने पनि बोर्डले प्रस्ट पारेको छ ।