सप्तरी – इजरायलको सत्तारूढ गठबन्धन जम्मा सात महिना टिकेर भंग भएको छ र दुई वर्षमा चौथोपटक आमनिर्वाचन हुन लागेको छ । सरकारले प्रस्तुत गरेको बजेट लगातार दोस्रो वर्ष पारित गर्न नसकिएपछि संसद् भंग गरिएको हो । ताजा आमनिर्वाचन मार्च २३ मा हुने भएको छ ।
मतसर्वेक्षणहरूमा लामो समयदेखिका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ चुनौतीदाताले अपदस्थ गर्न सक्ने देखाएका छन् । चाँडै चुनाव नहोस् भनी नेतान्याहु र रक्षामनत्री बेन्नी गान्जबीचको अप्ठ्यारो गठबन्धन बनेको थियो । तर महिनौंसम्म नीतिगत अवरोधको स्थिति आउँदा कोरोनाभाइरस नियन्त्रण गर्न गाह्रो परेको थियो । यसबीच कोरोनाका कारण बेरोजगारी दर १५ प्रतिशत पुगेको छ । ‘मलाई निर्वाचन गराउन मन थिएन,’ नेतान्याहुले संसद् विघटन गर्नुअघि मंगलवार अबेर राति बताए ।नेतान्याहुको लिकुड पार्टी र गान्जको ब्लु यान्ड ह्वाइट पार्टीबीचको गठबन्धन भत्कनुमा तत्कालीन कारण बजेट पारित नहुनु हो । मंगलवार मध्यरातसम्ममा बजेट पारित गरिनुपर्ने भए पनि त्यसो हुन नसकेपछि संसद् स्वतः विघटन भयो ।
नेतान्याहु र गान्जबीचको गठबन्धन शुरूदेखि नै विफल बन्ने बाटोमा हिँडेको थियो । उनीहरूबीच साना ठूला सबै विषयमा मतभेद थियो । एकअर्काप्रतिको अविश्वास चरममा पुगेको थियो ।