सप्तरी – पोखरा फाइनान्सको साधारण सभा पुस २९ गते बस्ने भएको छ । सभामा कम्पनीले ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२६% नगद लाभांश वितरण गर्न लागेको हो । सभा दरबारथोक ब्यांकेट, बाँस्तोलाथर, पोखरा कास्कीमा भर्चुअल माध्यमबाट बिहान ९ बजेबाट सुरु हुनेछ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि पोखराले पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।