सप्तरी – अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले कोरोना भाइरसको प्रकोपको उत्पत्तिलाई ढाकछोप गरिरहेको चीनलाई उत्तरदायी बनाउने अमेरिकी अभियानलाई साथ दिन आग्रह गरेका छन् ।
गत वर्ष डिसेम्बर अन्तिममा कोरोना महामारी चीनको वुहानबाट सुरु भएको थियो । कोरोना महामारीले विश्वभर तहसनहस गरिसकेको छ । अझै पनि यो महामारी नियन्त्रणमा आउन सकेको छैन । महामारीका कारण विश्वलाई ठूलो धक्का लागेको छ । तर, चीन भने यसको जिम्मेवारी लिन तयार देखिएको छैन ।पोम्पिओले सोमबार न्यूजमेक्समा ‘वेक अप अमेरिका’का लागि रोब स्मितसँगको एक अन्तर्वार्तामा भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएर भारतीय उत्पादनलाई प्रबर्द्धन गर्ने अभियानलाई प्रशंसा गर्दै उदाहरणको रुपमा प्रस्तुत गरेका छन् ।“हामीले चीनविरुद्धको अभियान सुरु गरिसकेका छौं, र वास्तवमा तपाईंले देख्न सक्नुहुन्छ कि विश्वले चीनलाई उत्तरदायी बनाउन विभिन्न प्रयासहरु सुरु भइसकेका छन् । यदी तपाईले अष्ट्रेलिया, भारत र अन्य देशहरू के गरिरहनुभएको छ, हेर्नुभयो देख्न सकिन्छ,” पोम्पिओले भने ।यसअघि अस्ट्रेलियाले पनि चीनमा भएको कोरोना महामारीको उत्पत्तिका लागि स्वतन्त्र अनुसन्धान गरिनुपर्ने माग गरेको थियो । उक्त मागपछि दुई मुलुकबीचको सम्बन्धमा तनाव सिर्जना भएको छ ।चीनले महामारीबाट विश्वको ध्यान विकेन्द्रित गर्नका लागि विभिन्न अधिनायकवादी र विस्तारवादी कदमहरु चालेको थियो । जसमा भारतीय सीमा क्षेत्रमा तनाव सिर्जना, दक्षिण र पूर्वी चीन सागरमा विवाद, हङकङमा राष्ट्रिय सुरक्षा कानुन, तिब्बत र मंगोलियामा धर्म संस्कृति नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।
विदेशमन्त्री पोम्पिओले चीनले महामारी नियन्त्रणका लागि प्रभावकारी कदम समयमै चालेको भए विश्व जोगिन सक्ने भए पनि चीनले त्यसो नगरेको भन्दै आलोचनासमेत गरेका छन् ।