सप्तरी -सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षअगाडि मंगलबार बिहान प्रेसरकुकर बम फेला परेको छ । कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेटनजिकै एउटा कालो ब्यागमा प्रेसरकुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि ‘सिल’ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए । अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
कार्यालय बन्द रहेकाले को–कति बेला प्रवेश गरेर कसरी बम कार्यालयमा राखियो भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ । रासस