सप्तरी – यतिबेला नेकपाका दुई पक्षीय केन्द्रीय कमिटी बैठक गर्ने अवस्थामा पुगेको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठक चलिरहेको छ । धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय भने सोमबारबाट नै बन्द छ । पार्टीको कचिङ्गलका कारण ओली पक्षले पार्टी कार्यालय बन्द गराएको छ ।
सोमबार कार्यालय पुगेका कर्मचारीहरुलाई ओली निकट केन्द्रीय सदस्य तथा पार्टी कार्यालका सचिव ईश्वरी रिजालले कर्मचारीहरुलाई आफ्नै घरमा बस्न निर्देशन दिएको कर्मचारी चन्द्रदेव पासवानले जानकारी दिए । “पार्टी कार्यालयमा आउनुपर्दैन । तपाईँहरु आ–आफ्नो डेरामा गएर बस्नुस् भन्नुभएको छ । त्यसैअनुसार आज कार्यालय गएको छैनौँ,” उनले भने ।पूर्वमाओवादी निकट कार्यालय सचिव श्रीराम ढकालले भने आफू केही ढिलो गरी कार्यालय पुग्दा कर्मचारीहरुलाई बिदा दिइसकिएको जानकारी पाएको बताए । “कार्यालय सचिवले कार्यालय बन्द गरेर आ–आफ्नै डेरमा गएर बस्नु भन्नुभएछ । त्यसपछि उहाँहरु बन्द गरेर घर जानु भएछ,” उनले भने ।उनी अहिले केन्द्रीय कमिटी बैठकको तयारीमा पेरिसडाँडामा रहेको जानकारी दिए । “म परिसडाँडामा छु । यताको कार्यालय खुलेको छ । उताको जानकारी छैन,” उनले भने । प्रचण्ड–नेपाल समूहले दिउसो १ बजे बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बैठक बोलाएका छन् ।
पार्टी कार्यालय आफ्नो पक्षमा पार्ने द्वन्द्वका कारण कार्यालय बन्द गराइएको अर्का कर्मचारी सुनाउँछन् । पार्टी कार्यालयमा बैठक बोलाउन रोक्नका लागि कार्यलय बन्द गरिएको उनले बताए ।