सप्तरी – फर्मुला वानका विश्व विजेता लेविस ह्यामिल्टनले बिबिसी पर्सनालिटी अफ द इयर २०२० को अवार्ड हात पारेका छन् ।फर्मुला वानका सर्वोत्कृष्ट ड्राइभरमध्ये एक ह्यामिल्टनले यो वर्ष लगातार चौथो पटक फर्मुला वानको विश्व च्याम्पियन बन्दै महान्
ड्राइभर माइकल सुमाकरको कीर्तिमान बराबरी गरेका थिए । दुवै ७–७ पटक विश्व च्याम्पियन बनेका छन् ।बेलायतका ३५ वर्षीय ह्यामिल्टनले जर्मनीका सुमाकरको ९१ ग्रान्ड पिक्स उपाधिको रेकर्डलाई पनि भङ्ग गरेका छन् । उनले ९५ ग्रान्ड पिक्स उपाधि हात पारेका छन् ।बिबिसीको मत सर्वेक्षणलाई आधार मानेर प्रदान गरिने यो अवार्डमा इङ्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन दोस्रो र घोडचढी खेलाडी होली डोली तेस्रो स्थानमा रहिन् ।
यो अवार्डका लागि बक्सर टाइसन फुरे, इङ्ल्यान्डका क्रिकेटर स्टुअर्ट वोर्ड, स्नुकरका रोनी ओ सुलिभान पनि मनोनयनमा परेका थिए ।ह्यामिल्टनले सन् २०१४ मा पनि यो अवार्ड हात पारेका थिए । गत वर्ष इङ्ल्यान्डका क्रिकेटर वेन स्टोकले यो अवार्ड हात पार्दा उनी दोस्रो स्थानमा थिए ।