सप्तरी – भरतपुरका दुईवटा मुख्य सडकका क्षेत्राधिकारभित्र पर्ने घरटहरा हटाउन सडक डिभिजन कार्यालयले १५ दिनको म्याद दिएको छ । आइतबार सूचना प्रकाशित गरी घरटहरा भत्काउन अन्तिमपटक समय दिइएको जनाएको छ ।
भरतपुरको पारस बसपार्कदेखि आँपटारीसम्म बाइपास रोड चार लेन सडक र पुल्चोकदेखि गोन्द्राडसम्म ६ लेन सडक बन्दै छ । बाइपास रोडमा सडकको मध्यभागबाट १५ मिटर दायाँ र पुल्चोक–गोन्दाड क्षेत्रमा सडकको मध्यभागबाट २५ मिटर दायाँ–बायाँ खाली गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । १५ दिनभित्र सम्बन्धित धनीले अटेर गरी नभत्काएमा सडक कार्यालयले आफैँ भत्काउने जनाएको छ । भरतपुरको विमानस्थल गेटदेखि चौबीसकोठीसम्म करिब तीन सय २० मिटर हाइवे क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सडक कार्यालयले यसअघि नै यस क्षेत्रमा दुवैतर्फ २५ मिटर रहने गरी सडक क्षेत्र तोकेको भए पनि मुआब्जा नपाएको स्थानीय बासिन्दाले बताएका छन् । ०३२ मा राजमार्ग निर्माण हुनुअघि यस क्षेत्रमा भोगाधिकार रहेको पाइएको छ । सडक कार्यालयले पनि स्थानीयको भोगाधिकार रहेको र मुआब्जा नदिएकाले विभागको दाबी नपर्ने भनी ०५० मा जग्गाधनीलाई लेखिएको छ ।
भरतपुर–१० ट्राफिक चोककी ६२ वर्षीया डिलादेवी रिजालले सडक डिभिजनले घर भत्काएमा आफू सुकुमबासी बन्ने बताएकी छिन् । उनको घर ०२५ मा बनेको हो । पति ठाकुर रिजालको ०६० मा मृत्यु भएपछि उनी एक्ली छिन् । अहिले क्यान्सरबाट पीतिड उनी घर भत्काउने सूचना जारी भएपछि तनावमा छिन् ।