सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता रहेको थियो ।
यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा सतर्कताका लागि निर्देशन दिइएको जानकारी दिए ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति तय भएपछि आइतबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङको पनि सहभागिता रहेको थियो ।