सप्तरी – भारतको एक अदालतले अभिनेत्री कंगना रनौतविरुद्ध दायर मानहानिको मुद्दामा छानबिन गर्न आदेश दिएको छ ।
गीतकार/लेखक जावेद अख्तरले नोभेम्बरको पहिलो साता अभिनेत्री कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका थिए ।सोही मुद्दाको सुनुवाइपछि शनिबार मजिस्ट्रेट अदालतले जुहू प्रहरीलाई छानबिन गर्न आदेश दिएको हो । अदालतले आउँदो जनवरी १६ तारिखसम्म प्रतिवेदन बुझाउन भनेको छ ।शनिबरको सुनुवाइमा जावेद पनि उपस्थित थिए । जावेदले पछिल्लो ५५ वर्षको मेहनतले कमाएको नामको बेइज्जत गर्न खोजिएको आरोप उनका वकिलले लगाएका छन् ।गएको महिना जावेदले अन्धेरीस्थित मेट्रोपोलिटन मजिस्ट्रेटमा कंगनाले राष्ट्रिय–अन्तर्राष्ट्रिय टेलिभिजिनमा अपमानजनक बयान दिएको बताएका थिए । कंगनाले सोक्रममा बिनाकारण आफ्नो नाम जोडेको भन्दै उनले मानहानिको आरोप लगाएका हुन् ।
कंगनाले जावेदको नाम आफ्नो र अभिनेता ऋतिक रोशनको सम्बन्धलाई लिएर भएको विवादमा लिएकी थिइन् । जावेदले ऋतिकविरुद्ध बयान नदिन आफूलाई कुनै समय धम्की दिएको आरोप उनले लगाएकी थिइन् । त्यसपछि जावेदले कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका हुन् ।