सप्तरी – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र हात्तीका एक–एकवटा बच्चा मरेका छन् । अर्नाले भने जन्माएको छ । सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको पश्चिम क्षेत्र नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनको बिजुली घोलमा शुक्रबार अन्दाजी चार/पाँच महिनाको गैंडाको बच्चा (केटो) मृत फेला परेको हो । बाघले आक्रमण गर्दा गैंडाको बच्चा मरेको थियो ।
यसअघि नमुना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारीघाटमा मंसिर ११ मा गैंडाको एउटा ५/६ महिनाको बच्चा मृत भेटिएको थियो । भाले गैंडाले आक्रमण गर्दा उक्त केटो मरेको थियो । निकुञ्जमा साउनयता १८ वटा गैंडा मृत फेला परेका छन् ।यसैगरी, निकुञ्जको खोरसोर हात्ती प्रजनन केन्द्रमा जन्मेको एउटा हात्तीको छावा (बच्चा) पनि शुक्रबार नै मरेको छ । मंसिर १६ मा जन्मेको बच्चाको मृत्युको कारण रोगको संक्रमण भएको हुन सक्ने उनको अनुमान छ । दुई ठूला जनावरका बच्चा मर्दा चिन्तित निकुञ्जका अधिकारी र संरक्षणकर्मीका लागि एउटा खुसीको खबर पनि छ । निकुञ्जमा अर्नाले गत बिहीबार पाडो जन्माएको छ । एक महिनाअघि पनि निकुञ्जमा अर्को अर्नाले बच्चा जन्माएको थियो । निकुञ्जमा हालसम्म अर्नाका ६ वटा पाडापाडी जन्मेका छन् ।
२०७३ पुसमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना चितवन निकुञ्जमा ल्याइएको थियो । पदमपुरमा ठूलो क्षेत्रलाई तारबार गरेर त्यसभित्र (इन्क्लोजरमा) अर्ना राखिएको छ । स्थानान्तरण गरेर ल्याइएकामध्ये ६ वटा अर्ना बाढी र बाघका कारण मरेका थिए ।