सप्तरी – पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्दैछन् ।
खुमलटारमा ओली-दाहाल एक्लाएक्लै वार्ताको तयारी भएको स्रोतले जनाएको छ । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओली खुमलटार आउन लागेको नेकपाकै नेता सुवास नेम्वाङले जानकारी गराएका छन् ।खुमलटारमा हुने ओली-दाहाल वार्ताले पार्टी विवादमा निकास दिने अपेक्षा गरिएको छ । दाहाल-नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् ।अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल-नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको छ । यसैको श्रृंखलास्वरूप दाहाल-नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् ।यद्यपि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलामा उपाध्यक्ष बामदेव गौतम उपस्थित नभएपछि दाहाल-नेपाल समूहमा शंसय छाएको छ ।गौतमको अनुपस्थितलाई दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओली पक्षधरको चलखेलको रूपमा बुझेको स्रोतले जनाएको छ । तथापि गौतमले आफू कुनै भेलामा नजाने तर बैठकमा जाने बताएका छन् ।
पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपाको विवाद पछिल्लो समय विभिन्न राजनीतिक नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रकरणबाट झनै चर्किएको छ ।