सप्तरी – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकूलतामा उभिएको टिप्पणी गरेका छन्। शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँणले यस्तो टिप्पणी गरेका हुन्।
‘राष्ट्रपति संविधानको प्रतिकूलतामा उभिनु, राष्ट्रपतिको जनतामा तीव्र विरोध हुनु, त्यसले गम्भीर आघात पुर्याउँछ,’ उनले भने, ‘गणतन्त्रलाई सबल बनाउन पनि बाधा पुर्यायाउँछ। राष्ट्रपति गम्भीर बन्नुस् भन्ने कांग्रेसको सल्लाह छ।’सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरङ्कुश र सर्वसत्तावादी सोचलाई अगाडी बढाएको समेत प्रमुख सचेतक खाँणको आरोप छ। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशमाथि नागरिकको तीव्र विरोध हुँदाहुँदै पनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि प्रमुख सचेतक खाँणले बताए।‘राष्ट्रपतिले राम्रो गर्नुभएन। संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो। सरकारले गरेको निर्णय संविधानको प्रतिकूल छ भने सरकारलाई सच्याउन राष्ट्रपतिले सुझाव दिने, सल्लाह दिने परम्परा छ,’ उनले भने, ‘संसारभरीको चलन छ। यही अध्यादेश केही समय अघि ल्याउँदा सबै राजनीतिक दल, कानुन, विज्ञ, मिडियाले विरोधका कारण फिर्ता लिइएको थियो। फिर्ता गरिसकेको अध्यादेश लैजाँदा राष्ट्रपतिले त्यति चाँडो स्वीकृत गर्नु उहाँको कमजोरी हो।’
प्रमुख सचेतक खाँणले नेपाली कांग्रेस सरकारले संविधानको प्रतिकूलतामा गरेको निर्णयको विरोधमा रहेको बताए। ‘सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न उदासीनता देखाएको छ। सरकारलाई उत्तरदायी बनाउने कुरामा जोड रहन्छ’ उनले भने।