सप्तरी -गएको हप्ता दाङमा तीन जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि दाङ प्रहरीले विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले लाइसेन्स बिना नै कलेजमा बाइक लिएर जाने विद्यार्थीमाथि प्रहरीले निगरानी बढाएको बताए । एसपी चन्दले केहि दिनअघि मात्रै दाङमा एकैदिन कलेज पढ्ने टिनेजर युवा विद्यार्थीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा ३ जनाको मृत्यु भएपछि प्रहरीले कलेज–कलेजमा गएर लाइसेन्स नभएका बाइकहरु नियन्त्रणमा लिन सुरु गरेको जानकारी दिए । पहिलो चरणमा विद्यार्थीलाई टार्गेट गरेर अभियान चलाइएको र लाइसेन्स बिना मोटरसाइकल चलाउने कलेज पढ्ने विद्यार्थी युवाहरुलाई उनका अभिभावकहरुसँगै राखेर सचेत गराउने क्रम जारी रहेको चन्दले बताए । अभिभावकलाई सचेत गराएपछि त्यसपछिको अभियानमा लाइसेन्स बिना चलाउने बाइकहरु नियन्त्रणमा लिइने र कानुनी कारबाही प्रक्रिया अघि बढाइने उनले चेतावानी दिए । दिनानुदिन सडक दुर्घटना बढ्नुका साथै त्यसमा ठक्कर दिनेदेखि ज्यान गुमाउनेमा कलेज पढ्ने युवा विद्यार्थी रहेको भन्दै प्रहरीले यसखालको अभियान बाध्य भएर सुरु गर्नुपरेको दाङका प्रहरी प्रवक्ता सुमित खड्काले बताए । यो अभियानमा कसैको भनसुन र दबाब नमान्ने खड्काको भनाइ छ । भबिष्यका कर्णधार मानिने युवा विद्यार्थीहरुलाई सडक दुर्घटनाबाट बचाउन अभियान सुरु गर्नुपरेको खड्काले बताए ।
कलेज पढ्ने युवाहरुले आफ्ना बाबुआमासँग जिद्धि गरेर लाइसेन्स बिना नै बाइक किन्न लगाउने गरेको भन्दै प्रहरीले गाडी वा बाइक चलाउन आफ्ना बालबालिका सक्षम भएपछि मात्र बाइक किनिदिनुपर्ने उनले बताए । बालबालिकाले जिद्धि गरेकै भरमा अभिभावकले लाइसेन्स बिना नै बाइक किनिदिँदा धनजनको क्षति हुने भन्दै यसमा सचेत रहन आग्रह गर्दै प्रहरीले अभियानलाई कडाइका साथ लैजाने तयारी गरेको छ । डीएसपी खड्काकाअनुसार प्रत्येक विद्यालयमा गएर सचेतना फैलाउनुका साथै क्याम्पसमै पुगेर विद्यार्थीका सवारीमा समेत प्रहरीले निगरानी बढाएको छ ।विद्यालय तथा कलेजमा पुगेर पहिलो चरणमा सवारी चालक अनुमती पत्र नलिई सवारी साधन नचलाउन विद्यार्थीहरुलाई अनुरोध गर्ने, विद्यालय, कलेजहरुमा ट्राफिक सचेतना अभियान सञ्चालन गर्ने गरेको छ ।प्रहरीको यो अभियानलाई सर्वसाधारणले चासो दिनुका साथै प्रशंसा समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक महेन्द्र सेनले जिल्ला प्रहरी प्रमुखको निर्देशनमा जिल्ला व्यापीरुपमा अभियान जारी रहेको र लाइसेन्सबिना बाइक चलाउने विद्यार्थी र उनका अभिभावकलाई सँगै राखेर प्रशिक्षण दिने कार्यक्रम चलिरहेको जानकारी दिए ।
विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले तीब्र गतिमा सवारी चलाउने, लापरवाही तथा सवारी साधनको नियम पालना गर्ने भन्दै मंसिर ३० गतेदेखि सुरु भएको यो अभियान जारी छ ।