
सप्तरी – बुधवार साँझपख काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सहितको टोली चाबहिल मैजुबहाल चक्रपथ पुग्यो ।
टोलीमा वडाध्यक्ष शुद्धकुमार डंगोल, काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापा लगायत सहभागी थिए ।लामो समयदेखि नगर विकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको करीब २ किलोमिटर बाटो मेयर शाक्य सहितको टोली पुग्दा धमाधम कालोपत्रे भइरहेको थियो । कुनै दुर्गम गाउँमा गाडी पुग्दा उत्साहित भए जस्तै स्थानीयले मेयर शाक्य सहितको टोलीलाई स्वागत गरे । त्यही थिए मैजुबहाल चक्रपथका स्थानीय रविन्द्र पण्डित पनि । लामो समयपछि घरै अगाडि धमाधम कालोपत्रे हुँदा पण्डित मात्रै होइन, अन्य स्थानीय पनि दंग देखिन्थे । मेयर शाक्य सहितको टोली अनुगमनमा आउँदा दंग परेका पण्डितले मेयर शाक्य सहितको टोलीलाई स्वागत गर्दै निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गरेकोमा धन्यवाद दिए । ‘चुनावी प्रचारमा आएका बेला बृहत् मैजुवहाल हाइट मार्गमा कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्य सम्पन्न गर्ने प्रतिबद्धता मेयरज्यूबाट भएको थियो । आज उहाँकै अगुवाईमा यो काम सम्पन्न भएको छ । हामी टोलवासी खुशी छौं,’ पण्डितले भने, ‘विगत २०–२५ वर्षदेखि हामी महानगरवासी भए पनि बत्तीमुनीको अध्यारोमा थियौं । कच्चीबाटोमा दिनहुँ धुलो–धुँवा खाएर हिलोमा लडिबुडी गर्दै आवत–जावत गर्न बाध्य थियौं । अहिले हाम्रो टोलटोलमा धमाधम कालोपत्रे भएको छ । यसका लागि काठमाडौं महानगरपालिकालाई विशेष धन्यवाद दिन चाहन्छौं ।’अनुगमन समितिका संयोजक समेत रहेका पण्डितले कालोपत्रे हुँदै गर्दा गुणस्तरमा पनि ध्यान दिन स्थानीय रातदिन खटिरहेको जानकारी दिए ।
अनुगमनकै क्रममा भेटिएका टिका पराजुली पनि टोलटोलमा कालोपत्रे भएकोमा उत्साहित देखिए । ‘हामी लामो समयदेखि यहाँको दुर्दशाबाट परिचित छौं । अब हिलो, धुलोमा दिनहुँ हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएका छौं । ८–९ करोडको लगानीमा हाम्रो टोलमा यति छिट्टै यस्तो बाटो बन्ला, कालोपत्रे होला भन्ने सोचेकै थिएनौं,’ उत्साहित हुँदै पराजुलीले भने, ‘नेताहरू चुनावका बेला ठूला–ठूला भाषण गर्ने र जितेपछि हराउने अनि एकैचोटी अर्को निर्वाचनमा आउने देखेका हामीलाई यो पटक चुनावताका गरेका प्रतिवद्धता पूरा हुँदा औधी खुशी लागेको छ । यसमा काठमाडौं महानगरपालिकाका प्रमुखज्यू र वडाका जनप्रतिनिधि लगायतलाई विशेष धन्यवाद दिन चाहन्छु ।’पराजुलीसँगै भेटिएका नारायण प्रसाद अधिकारीले पनि बाटो बनेकोमा र जनप्रतिनिधि नै अनुगमनमा आएकोमा खुशी व्यक्त गरे । उनले गुणस्तरीय काम होस भन्नेबाहेक अरु माग केही नरहेको बताए ।स्थानीय सरस्वती कार्कीले केन्द्रीय र स्थानीय तहबाट भइरहेका कामको गतिविधिका लागि सम्बन्धित निकायबाट निरन्तर हुने गरेका अनुगमन सकारात्मक भएको प्रतिक्रिया दिइन् ।करीब २ घण्टा जतिको अनुगमनकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख शाक्यले आफू निर्वाचित भएर आएपछिका ३ वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको बताए । ‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौं,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौं । यस्ताखाले अनुगमन ३२ वटै वडामा समय–समयमा गर्दै आएका छौं ।’ उनले चुनाव प्रचारका बेला मैजुबहाल चक्रपथको कालोपत्रे गर्ने लगायतका काम आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै काम सम्पन्नको चरणमा आइपुग्दा खुशी लागेको बताए । ‘मैले चुनाव प्रचारका बेला लामो सयमदेखि अलपत्र परेको यो सडक निर्वाचित भएपछि मेरै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ । ८ करोड बढीको बजेट सानो होइन । ठूलो बजेटको काम भएकाले योजना पूरा नहुने हो कि भन्ने यहाँका स्थानीयको आशंका थियो । आज सम्पन्न हुने चरणमा छ, म खुशी छु,’ उनले भने, ‘बोल्ने धेरै आए । तर काम कसैबाट पूरा भएन । तपाईंको पनि त भाषण मात्रै होला नि भनी यहाँका स्थानीयले गुनासो गर्नुभएको थियो । आज तपाईंहरूको त्यो प्रश्नको जवाफ कामबाटै दिएको छु । यो सबै टिमओर्कका कारण सम्भव भएको हो ।’ उनले अन्य बाँकी काम पनि सकेसम्म यही कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सल्लाहकार भट्टराईले सन्तोषजनक रूपमा काम अघि बढेकोमा खुशी व्यक्त गरे । उनले काठमाडौं महानगरपालिकाको विशेष पहलमा काम सम्पन्न हुने चरणमा पुगेको भन्दै आगामी दिनमा यसको संरक्षणको दायित्व टोलबासीको भएको बताए ।वडाध्यक्ष डंगोलले पनि उम्मेदवार बनेकै बेला निर्वाचित भएपछि विकास निर्माणको जिम्मा लिने प्रतिवद्धता व्यक्त गरेको भन्दै आज प्रतिवद्धता पूरा हुने चरणमा रहेको बताए । नगर विकासले अलपत्र पारेर छाडेको मैजुबहाल चक्रपथको कालोपत्रे गर्ने काम महानगरपालिकाले सम्पन्न गरेको बताए । ‘यो महानगरपालिकाको भौतिक पूर्वाधारको क्षेत्रमा सायद सबै भन्दा ठूलो बजेट हुनुपर्छ । यति धेरै बजेटमा यहाँको काम सम्पन्न गर्न पाउँदा खुशी लागेको छ,’ उनले भने, ‘अन्य विकास निर्माणका कामलाई पनि हाम्रै कार्यकालमा पूरा गर्ने गरी लाग्छौं ।’
उनले मैजुबहाल चक्रपथको करीब २ किलोमिटर कालोपत्रे गर्ने, बिजुलीका पोल सार्नेलगायतका कार्यका लागि करीब ८ करोड ५० लाखको योजना भएको सुनाए ।