सप्तरी- काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु अझै केहि समय बन्द रहने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय थप केही समय बन्दै रहने भएको हो । केही विद्यालय खुल्न थालेको सन्दर्भमा काठमाडौं महानगरले महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।
महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफल गरेपछि उक्त निर्णय गरेको हो । विदेशका धेरै सहरहरुमा पनि कोभिडका कारण विद्यालय बन्द भएकोले नेपालमा पनि जोखिम कायम रहेको अवस्थामा विद्यालय खोल्न नहुने सल्लाह छलफलमा सहभागीले दिएका थिए ।जाडो बढ्दै गएकोले पनि जोखिम बढ्न सक्ने सम्भावना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको बुझाई छ । उनी अझै केही समय अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने तर्क गर्छन् । स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिनाभित्र ५० हजारको ‘एन्टिजेन टेस्ट’ गर्ने भनेकोले पनि यसपछि अवस्था हेरेर निर्णय गर्न सकिने महानगरको बुझाई छ ।बालबालिकाले स्वास्थ्य मापदण्ड आफैं पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने, खोलेका विद्यालयको पनि अनुगमन गर्ने र स्वास्थ्य मापदण्ड पूरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्ने जिल्ला शिक्षा कार्यालयको बुझाई छ ।
महानगरले नयाँ सन्दर्भलाई ध्यान दिँदै सरोकारवालाको सल्लाहअनुसार निर्णय गर्ने जनाएको छ ।