२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – घरेलु कामका लागि भारत हुँदै कुवेत गएकी बिमला अधिकारीले विदेश त्यस्तो होला भनेर कहिले कल्पनासमेत गरेकी थिइनन् । कुवेत पुगेपछि जे–जे भोगिन् त्यसपछि मात्रै परदेशीको वास्तविकता उनलाई थाहा भयो।

रात दिन नभनि काममा खट्दा पनि रोजगारदाताले हेप्ने, हप्काउने र पिट्ने सम्मका हर्कत गर्थे। घरमालिकले पारिश्रमिक पनि नदिँदा उनले निकै दर्दनाक अबस्था भोग्नु पर्‍याे।

‘६ जनाको परिवार थियो। त्यो परिवारको कपडा धुने, सरसफाइ गर्नेलगायत सबै कुरा गर्नु पर्थ्याे। बिहानदेखि रातिको २ बजेसम्म काममा खट्दा पनि बासीभात खान दिने, त्यो पनि २४ घण्टामा १ पटक मात्रै,’ कुवेतबाट फर्किएकी बिमला अधिकारीले सुनाइन् ।

नुनसँग भए पनि खाना खान हारगुहार गर्दा उनको कुरा घरमालिकले कहिल्यै सुनेनन् । नत पारिश्रमिक नै दिए।

‘घर फर्किन्छुभन्दा पनि नदिने, घरमा फोन गर्न पनि नपाउने। घरमालिकको छेउमा बसेर मात्रै बोल्न पाइन्थ्यो,’ बुधबार पौरखी नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत् बिमलाले गुनासो गरिन् ।

अर्का दोलखाका सुशील खड्काको पीडा पनि उस्तै छ। कोरोनाका कारण रोजगारीका लागि कतार गएका खड्काले गएको केही समयपछि नै रोजगारी गुमाए। दुई वर्षको करार अवधिका लागि श्रम स्वीकृति लिएर गएको भए पनि त्यो अवधिसम्म काम पाएनन् । काम गरेको अवधिकोसमेत पैसा नदिई कम्पनीले उनलाई घर फिर्ता जान भन्यो ।

‘कम्पनीले काम दिएन । कम्पनीले ७ महिनाको पारिश्रमिक नदिएपछि साथीहरुसँग पैसा सापटी मागेर स्वदेश फर्किएँ,’ उनले सुनाए ।
पैसा कमाउने सपना बोकेर म्यानपावरलाई १ लाख ३० हजार बुझाएर विदेशिएका उनले म्यानपावरमा बुझाएको जति रकम जति पनि कमाई नगरी स्वदेश फर्किए

दोलखाका तेन्जिङ थामी पनि १० महिनामा स्वदेश फर्किए। म्यानपावरलाई डेढ लाख पैसा तिरेर गएका उनले कम्पनीबाट पारिश्रमिक समेत पाएनन् । स्वदेश फर्किएर म्यानपावरविरुद्ध उजुरी गरे पनि उनले आफूले बुझाएको पैसा फिर्ता पाएका छैनन्।

सिन्धुपाल्चोककी मनमाया तामाङलाई आफू कुन देश जाँदैछु भन्ने पनि थाहा थिएन। एजेन्टहरुले उनलाई इजिप्ट पठाउने सुनाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई जाने भनेर भिजिटभिसामार्फत् उनलाई छिराईयो। रोजगारदातासम्म पुगेपछि हामीले ११ हजार डलर तिरेर किनेको भन्दै रोजगारदाताले ओभरटाइम काम लगाए तर पारिश्रमिक दिएनन्। जति काम गरे पनि पारिश्रमिक नपाएपछि उनी त्यहाँबाट भागेर दूतावाससम्म पुगिन् र सहयोगमा स्वदेश फर्किइन्।

बिमला, मनमाया, तेन्जिङजस्ता रोजगारीको खोजीमा विदेशिएका अधिकांश नेपाली श्रमिकहरु आधारभूत हकअधिकारबाटै बञ्चित रहेर काम गर्नुपर्ने अवस्था रहेको पाइएको छ। उनीहरुलाई रोजगारदाताले ओभरटाइम काम लगाउने तर पारिश्रमिक नदिने गरेको पाइएको छ। म्यानपावरलाई चर्को रकम बुझाएर विदेशीएका उनीहरु विदेश जाँदा लागेको ऋण तिर्न समेत जर्बजस्ती श्रम गर्न बाध्य रहेको पाइएको छ।

आप्रवासी नेपालीहरुको चरम श्रम शोषण : विज्ञ
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा बुधबार आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै विज्ञहरुले समेत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु आधारभूत हकअधिकारबाट वञ्चित रहेको बताएका छन्। त्यसमा पनि नेपालबाट रोजगारीको खोजीमा विदेशिने महिला श्रमिकहरु निकै ठूलो समस्यामा परेको महिला अधिकारकर्मी मन्जु गुरुङले बताइन्।

‘कामदारहरु खास गरी अवैध बाटो र प्रकृयामार्फत् जाँदा उनीहरुको वैदेशिक रोजगार बोर्ड र विभागमा अभिलेख पनि हुँदैन। उनीहरु विदेश जाँदा बुझाएको पैसाको प्रमाण पनि हुँदैन। आइएलकोको आधारभूत मापदण्डबाट पनि नेपाली श्रमिकहरु बञ्चित छन्,’ महिला अधिकारकमी गुरुङले भनिन् ।

श्रम तथा आप्रवासी विज्ञ रामेश्वर नेपालले आप्रवासी नेपाली श्रमिकहरु जबर्जस्ती श्रम गर्न बाध्य रहेको बताए। बुधबार आप्रवासी श्रमिकका विषयमा आयोजित कार्यक्रममा बोल्दै विज्ञ नेपालले नेपाली कामदारहरुको चरम श्रम शोषण भएको बताए।

‘विदेशमा श्रम तथा आर्थिक शोषणमा परेर फर्किएका नेपाली श्रमिकहरुले वैदेशिक रोजगार विभागमा उजुरी गर्दा पनि १५ वर्षसम्म पनि उजुरी फरफारक नभएको अवस्था छ। न्यायमा निकै चुनौती छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) की प्रतिनिधि नेहा चौधरीले पनि आप्रवासी नेपाली श्रमिकहरु न्यायको पहुँचमा पुग्न नसकेको उल्लेख गरिन् । आप्रवासी नेपाली श्रमिकहरुको हकअधिकार सुनिश्चितताका लागि सबै सरोकारवालाहरु मिलेर अगाडि बढ्नुपर्ने उनको जोड छ ।

कानुनी उपचारका लागि आउनुस्ः महानिर्देशक विभाग
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारीका क्रममा ठगिएका पीडितहरुलाई कानुनी उपचारका लागि विभागसम्म आउन आग्रह गरेका छन् । बोलेर मात्रै समस्या समाधान नहुने वा समस्या देखाएर मात्रै नहुने भन्दै कानुनी उपचारका लागि विभागमा आउन आग्रह गरेका हुन् ।

विदेशमा अप्ठ्यारो परेर फर्किएका श्रमिकहरुको गुनासो सुनेपछि उनले प्रतिप्रश्न गरे, ‘तपाइँहरु उजुरी लिएर विभागसम्म किन आउनु हुन्न ?’

विदेशमा करिब ६० लाख नेपालीहरु रहेको भन्दै सबैलाई सुरक्षित तथा व्यवस्थित रुपमा रहेर काम गर्नसमेत महानिर्देशक दाहालले सुझाए।

‘अहिले वैदेशिक रोजगारीमा जान रोकने भन्दा पनि यसलाई व्यवस्थित गर्ने बेला हो। तर कुन देशमा जाँदैछु। के कामका लागि जाँदैछु भन्ने सबै कुरा बुझेर मात्र वैदेशिक रोजगारीमा जानु होला,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]