सप्तरी – ललितपुरका सुशील आचार्यले ७३ माघ १० गते कामको सिलसिलामा न्युरोड पुगे। ७ दिनअघि मात्र २ लाख २० हजारमा किनेको रियो स्कुटर लिएर न्युरोड पुगेका उनी काम सकेर फर्कंदा पार्किङमा स्कुटर थिएन।
उनले तत्कालै प्रहरीमा आफ्नो स्कुटर हराएको निवेदन दिए। सुरुका दिनमा पाइने आस गरेका उनी महिनौं कुरे। तर, स्कुटर पाइने कुनै छनक पाएनन्। त्यसपछि २ लाखको स्कुटरको माया मारे। ४ वर्षअघि हराएको स्कुटरको माया मारिसकेका आचार्यलाई मंसिर ३० गते महानगरीय ट्राफिक महाशाखाबाट फोन आयो।’काम लाग्दो त के होला र भन्दै आएको थिएँ। स्कुटर पनि थोत्रो भइसकेको रहेछ’, आचार्यले भने, ‘जे होस् मिहिनेतले किनेको स्कुटर ढिलै भए पनि हात परेकोले खुशी नै छु।’उनको स्कुटर कीर्तिपुरमा भेटिएको थियो। महाशाखा कार्यालयमा बुधबार लस्करै २२ वटा भेट्टाइएका मोटर साइकल र स्कुटर थिए। कार्यक्रम थियो, हराएका सवारीसाधन सम्बन्धित धनीलाई बुझाउने।आचार्य जस्तै अप्सरा खत्रीको पनि भेष्पा स्कुटर बानेश्वरबाट ७५-१०-१२ गते हराएको थियो। उनको स्कुटर स्वयम्भूमा भेट्टाइएको थियो। यता समेश श्रेष्ठको पल्सर २२० थानकोटबाट ७५-५-२२ गते हराएको थियो। महाशाखाको टोलीले बलम्बुबाट फेला पार्यो।काठमाडौं उपत्यकामा पछिल्लो क्रममा बाइक र स्कुटर चोरीका घटना बढ्दै गएका छन्। चोरी भएका बाइकहरु उपत्यका कटाएर ट्राफिकको उपस्थिति कम हुने ठाउँमा लगेर निर्वाध चलाउने गरेको पाइएको छ।महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले चोरीएको सवारीसाधन देशमा विभिन्न जिल्लामा पुग्ने गरेको बताए। ‘जहाँ ट्राफिकको उपस्थिति कम छ। त्यहाँ लगेर नम्बर प्लेट परिवर्तन गर्ने क्रम बढेको छ’, उनले भने, ‘चोरिएको सवारीसाधन खोज्ने र सम्बन्धित धनीलाई बुझाउन महाशाखाले गम्भीर भएर काम गरिरहेको छ।’चोरी गर्ने गिरोहको बारेमा प्रहरी गम्भीररूपमा अनुसन्धान गरिरहेकोले हराएका अन्य सवारीसाधनहरुको खोजी तीव्र पारिएको प्रमुख भट्टराईले जानकारी दिए।वर्षौंदेखिको मिहिनेतले किनेको सवारीसाधनलाई सुरक्षित गर्न सम्बन्धित धनीले पनि निश्चित क्षेत्रमा पार्किङ गर्नुपर्ने उनले बताए। ‘हामीले आफ्नो सामान सुरक्षित राख्न जरुरी छ। त्यसैले निश्चित तवकेको स्थानमा पार्किङ गरिदिए चोरीका घटना अलि कम हुन सक्छन्’, उनले भने’,यदि सवारीसाधन हराएमा तत्कालै निवेदन दिनुपर्छ। हामीले ढिलोचाँडो उक्त सवारीसाधन खोजेर सम्बन्धित व्यक्तिलाई बुझाउँछौं। बुधबार मात्र हामीले २२ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छौं।’
आर्थिक वर्ष ७७-७८ मा हालसम्म ५ सय २ वटा मोटरसाइकल हराएको निवेदन महाशाखामा रहेका छन्। जसमा १ सय ७ अनुसन्धानमा रहेका छन्। ६९ फेला पारिएको छ। मोटर साइकल चोरीमा संग्लन १५ जना पक्राउ गरिएको महाशाखाले जनाएको छ।