सप्तरी – गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मुलुकको आर्थिक विकासका सहकारी क्षेत्रको महत्वपूर्र्ण योगदान रहेको बताएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा अन्तर्गत गण्डकी प्रदेशस्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले जनतासँग भएको निष्क्रिय पुँजीलाई परिचालन गर्नेदेखि रोजगारी सिर्जना, आयआर्जन बढाउन तथा सामाजिक सम्बन्धमा सुधार ल्याउन सहकारीको योगदान रहेका बताए ।अनुदानका नाममा कतिपय काल्पनिक मानिसहरुले राज्यको स्रोत परिचालन गरेकोसमेत गुनासो आएको प्रसंग कोट्याउँदै मन्त्री थापा मगरले सहकारीमार्फत राज्यले परिचालन गर्ने बजेट लैजान सके मात्र वास्तविक किसानको घर घरमा पुग्ने उनले बताए । “गण्डकी प्रदेश सरकारले उत्पादन क्षेत्रमा काम गर्ने किसानहरुका लागि सहयोगको कार्यक्रम बनाएको छ”, मन्त्री थापा मगरले भने, “सहकारी बैंक र अन्य सहकारीहरुसँग मिलेर सरकारका योजना कार्यान्वयन गर्न प्रदेश सरकार तयार छ ।”आर्थिक विकाससँगै सामाजिक रुपान्तरणका लागि राज्यको प्रमुख सहयोगी संस्थाका रुपमा सहकारी क्षेत्रलाई अगाडि बढाउनुपर्ने उनले बताए । कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाइँले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ ।सहकारी बैंकले मंसिर २३ गतेदेखि सञ्चालन गरेको प्रदेशस्तरीय एकाई सभा गण्डकी प्रदेशको कार्यक्रमसँगै सकिएको छ । ७ वटै एकाईसभाबाट छनोट भएका एकाई प्रतिनिधिहरुको सभा पुस ३ गतेका लागि आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा घोषणा भएको छ । ४४ वटा शाखामध्ये यस वर्ष बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा चयन भएको बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सरिता भट्टराईले जानकारी दिए ।२०६५ सालमा बैंकको दोस्रो शाखाका रुपमा स्थापना भएको बागलुङ शाखामा धौलागिरि क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सहकारीहरुले कारोबार गर्दै आएका छन् ।
यस्तै बैंकले प्रदान गर्ने पुरस्कार अन्तर्गत बचत तथा ऋण सहकारी संस्था बाहेकका सहकारीहरु मध्ये गण्डकी प्रदेशको पोखरास्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको छ ।बैंकले प्रदेश स्तरमा २ वटा संस्थालाई पुरस्कृत गर्दै आएको छ । गण्डकी प्रदेशबाट वचत तथा ऋण विधामा नवलपरासी (सुस्तापूर्व) को देवचुलीस्थित परोपकार वचत तथा ऋण सहकारी संस्था र अन्य विधामा कास्कीको पोखरास्थित काहुँदेउराली बहुद्देश्यीय सहकारी संस्था पुरस्कृत भएका छन् ।
बैंकले शाखास्तरमा प्रदान गर्ने उत्कृष्ट र नियमिततर्फ कावासोती शाखाबाट किसान बचत तथा ऋण सहकारी संस्था गौडाकोट र महाराजा वचत तथा ऋण सहकारी संस्था कावासोती, दमौली शाखाबाट तिनखोले वचत तथा ऋण सहकारी संस्था र मादीसेती वचत तथा ऋण सहकारी संस्था, पोखरा शाखाबाट अलकापुर वचत तथा ऋण सहकारी संस्था र लेखनाथ सामुदायिक वचत तथा ऋण सहकारी संस्था ।
वालिङ शाखाबाट शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था र बागलुङ शाखाबाट बागलुङ बहुउद्देश्यीय सहकारी संस्था र बागलुङ दुग्ध उत्पादक सहकारी संघ पुरस्कृत हुने भएका छन् ।