सप्तरी – वर्षौदेखि रोजगारको सिलसिलामा भारत गएका सुदूरपश्चिम प्रदेशका थुप्रै नेपालीहरु कोरोनाका कारण घर फर्किए। भारतमा कोरोना संक्रमणको उच जोखिम र त्यहाँ पनि लामो समय लकडाउन भएपछि दैनिक हुलका हुल नेपालीहरु स्वदेश फर्किएका थिए । यसमध्ये धेरैजसो पुनः भारततिरै फर्किए । कतिपय भने अब नेपालमै बस्ने मनासायका साथ विभिन्न पेशा, व्यवसायमा जोडिन थालेका छन्।
यिनै मध्येका एक हुन्, भरत नाथ । उनी पनि नेपाल र भारत दुवै मुलुक कोरोना संक्रमणको त्रासले आक्रान्त बनिरहेका बेला यहाँ रहेका नेपालीहरुको गाली खाँदै नेपाल छिरेका थिए । मतलब त्यतिबेला भारतबाट स्वदेश फर्किएका नेपालीहरुलाई कोरोना बोकेर ल्याउन त्रास यहाँ रहनेलाई थियो। बाजुराको त्रिवेणी नगरपालिका–८ झालगाउँका हुन् भरत नाथ। उनी नाथ विगत ६ वर्षदेखि भारतको राजधानी नयाँ दिल्लीको एउटा होटलमा काम गर्थे । युरोप अमेरिकाका विभिन्न मुलुकमा महामारीको रुप लिएको कोरोना भारत छिरिसकेको थियो। संक्रमण तीव्ररूपमा फैलिँदै गएपछि भारत सरकारले मार्च २१, २०२० बाट लकडाउन सुरु गर्यो । लकडाउनका कारण नाथ काम गर्ने होटल पनि बन्द भयो । उनको रोजगार गुम्यो। त्यहाँ कमाएको रुपैयाँले घरमा परिवारको खर्च धान्दै आएका थिए । लकडाउन लम्बिदै गयो । होटल खुल्ने छाँट देखेनन् उनले । अनि विचार गरे ‘अब नेपाल फर्किनु पर्छ’ । अनि भरत जेठ महिनामा गौरीफन्टा नाका हुँदै नेपाल फर्किए । १४ दिन क्वारेन्टिनको बसाइपछि क्वारेन्टिनको बसाइ सकिएपछि घरमा गए । कोरोना महामारीको अन्त्य अनिश्चित भयो । आर्थिक समस्याले भारतलाई मानसिक तनाव बढ्दै गएको थियो । ‘अब के चाँही गरेर जीविकोपार्जन गर्ने होला ? केहीदिन त्यसै रन्थनिएँ’ भरत सुनाउँछन् । अनि नगरपालिकाको कृषि शाखामा च्याउ उत्पादनका लागि परामर्श लिए ।कृषि शाखाका ईश्वर थापा लगायतका कर्मचारीले उनलाई च्याउ सम्बन्धी परामर्श दिए । परामर्श लिँदै गएपछि उनलाई यसमा केही गर्न सकिन्छ भन्ने विश्वास भयो । घर परिवारसँग सल्लाह गरी च्याउ उत्पादनको काममा हेलिए।
उनले कृषि शाखाबाट ९२ पोका लागि च्याउको बीउ पाए । बीउ पाएपछि प्लाष्टिकको टनेल बनाएर च्याउ उत्पादन काम अघि बढाए। अहिले आफ्नै लगानीमा उत्पादन सुरु गरेका भरतलाई नगरपालिकाले अनुदान दिने आश्वासन दिएको छ। ‘च्याउ उत्पादनमा मेहनत धेरै चाहिन्छ, उनले भने, ‘उत्पादन गरेको च्याउ स्थानीय बजारमा विक्री गर्ने सोच बनाएको छु ।’च्याउ फलेपछि बाजुरा जिल्लाका सम्पूर्ण बजारहरूमा पुर्याउने उनको उद्देश्य छ । अहिले त्यहाँ प्रतिकिलो च्याउको मूल्य ३ देखि ४ सय रुपैयाँ रहेको छ । नाथले यसअघि ७ वर्षसम्म स्थानीय बाँम्का बजारमै स्टेशनरी पसल चलाएका थिए भने ५ वर्षसम्म शिक्षण पेशा पनि गरेका थिए । उनले मात्र फोटो स्टुडियो समेत चलाएका थिए।
ती व्यवसायबाट राम्रो आम्दानी नभएपछि उनी भारत पसेका थिए । त्रिवेणी नगरका मेयर रामसिंह रावल आफ्नै ठाउँठाउँमा केही गर्छु भनेर लागेका भरत नाथ लगायत सक्रिय कृषकका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउछन्।