०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुईपटक शिलान्यास भएको पक्की पुल अझै बनेको छैन । कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए ।

कालीकोटको जितेमा झोलुंगे पुलबाट कर्णाली नदी तर्दै स्थानीय ।कालीकोटका ५ वटा स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बत जोड्ने सडकका लागि कर्णाली नदीमा पक्की पुल निर्माण गर्न २०६९ मा कन्काई जेभीले ठेक्का लिएको थियो । २ वर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीले सम्झौता गरेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार ठेक्का म्याद सकिएको ५ वर्षमा पनि आधा काम भएको छैन । १३ करोड रुपैयाँ बजेट रहेको पुलको लागत अहिले बढेर १७ करोड रुपैयाँ पुगेको डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले बताए ।उनका अनुसार कन्काई जेभीले अर्को ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिँदा पुल अलपत्र परेको हो । कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले पुनः ठेक्का सम्झौता गरी काम सुरु गरेको उनले जानकारी दिए । स्टिल ट्रससहितको ७५ मिटर लम्बाइको पक्की पुल ठेकेदारले २०७८ असार मसान्तसम्म सक्ने गरी फेरि सम्झौता गरेका छन् ।भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले अधिकांश ठाउँको ट्र्याक खोले पनि पुल नबन्दा यातायातका साधन आउजाउमा समस्या भएको छ । कालीकोटको जितेदेखि हुम्लाको कुवाडीखोलासम्म ९४ किलोमिटर दूरीमा गाडी गुड्न थालेको निर्माण कार्यदल प्रमुख मिलन कार्कीले बताए । उनका अनुसार खुलालुमा पुल नहुँदा नदीको बहाव घटेका बेला मात्रै फेरि सञ्चालन हुने गरेको छ । उनले भने, ‘पुल नहुँदा करिडोरको निर्माण सामग्री ढुवानी गर्न गाह्रो छ ।जितेको झोलुंगे पुलबाट डिजेल ल्याउन कठिनाइ भएपछि अहिले व्यवसायीले नदीमा ड्रम बाँधेर त्यसमाथि डिजेलका ड्रम राखेर यातायातका साधन कर्णाली तारिरहेका छन् । पुल नहुँदा पलाता गाउँपालिकाले गत फागुनमा ड्रमको सहायताले कर्णाली नदीमा तारेका दुई जिप कर्णालीपारि सञ्चालनमा छन् । गत साउनको वर्षाले बगाएको फुगाडखोलाको बेलिब्रिज पनि अझै बन्न सकेको छैन । पहिरोले बगाएको सडकको चट्टान फोडेर एकतर्फी गाडी चल्ने बनाए पनि खुलालुमा पुल नहुँदा फेरीबाट तारेका जिप र मिनिट्रक जितेदेखि नरहरिनाथ, रास्कोट, पचालझरना, पलाता हुँदै बाजुरासम्म एकतर्फी सञ्चालन भइरहेका छन् ।

कच्ची सडक र पुलको अभाव देखाउँदै व्यवसायीले चर्को गाडी भाडा लिने गरेको स्थानीय जनक विष्टले बताए । ‘बाजुरासम्म सडकको ट्र्याक खुले पनि पुल नहुँदा जिते बजारको झोलुंगे पुलबाट सामान ढुवानी गर्नु परेको छ,’ उनले भने । झोलुंगे पुलमा भरियाबाट सामान ढुवानी गर्दा दैनिक उपभोग्य सामग्री महँगो भएको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए ।ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकमा निर्माणाधीन टाकुल्ला पुल १० वर्षदेखि अलपत्र छ । २ सय ३३ किमि दूरीको राजमार्गमा ९ पुल भने निर्माणाधीन छन् । ३ करोड रुपैयाँमा पुल निर्माण गर्ने गरी जागृति/तुल्सी/दुर्गा जेभीले निर्माणको जिम्मा लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि २०७४ सालमा ठेक्का तोडिएको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । फेरि ठेक्का नहुँदा निर्माणको काम अलपत्र छ ।कर्णाली नदीमा पुल नहुँदा कालीकोटको पलाता गाउँपालिकाले खरिद गरेका जिप ड्रमको सहायताले नदी तारिँदै । गत फागुन १ गते ड्रमको सहायताले तारिएका २ जिप पलाताको थिर्पूदेखि धौलागोहको राडुनेटासम्म सञ्चालनमा छन् ।कर्णाली राजमार्गअन्तर्गत तिलानदी, दहीखोला, राचुली र छिडेनाखोलामा पुल निर्माण भइरहेका छन् । कर्णाली राजमार्गसँग गाउँ जोड्न सडक निर्माण गरिए पनि तिलागुफा–७ भैसेगौडामा तिलानदीमाथि पुल निर्माणमा ढिलाइ भएको स्थानीयको गुनासो छ । लकडाउनका कारण भारतबाट फलामे स्टिल ट्रस ल्याउन ढिला भएको सुपरस्टार निर्माण सेवाकी ठेकेदार तारा शाहीले बताइन् । निर्माण सामग्रीको अर्डर भइसकेको भन्दै उनले चालु आर्थिक वर्षभित्र पुल निर्माण हुने दाबी गरिन् ।

कर्णाली राजमार्गअन्तर्गतकै सेरिघाटस्थित तिलानदीमा पनि पुल निर्माणमा ढिलाइ भइरहेको छ । सेरिघाटमा १५ वर्षअघि सेनाले निर्माण गरेको बेलिब्रिज जीर्ण भइसकेको छ । स्थानीय कमल पाण्डेले भने ‘जीर्ण पुलबाटै गाडी वारपार भइरहेका छन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]