
सप्तरी – जिल्लाको खिजीदेम्वा गाउँपालिका ३ स्थित खिजीचण्डेश्वरीको दोमस विमानस्थल परीक्षण उडानमै सिमित बनेको छ । गत वर्ष २०७६ पुस ७ गते परीक्षण उडान भएपनि त्यसपछि नियमित उडान हुन सकेको छैन ।
विमानस्थलको सुधार तथा नियमित उडान गर्ने प्रतिबद्धता गरिए पनि उडान तालिका र सुधारका लागि बजेट व्यवस्थापन नहुँदा गौचरणमा सिमित बनेको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराई, संघीय संसदको विकास तथा प्रविधि समितिका सदस्य सांसद यज्ञराज सुनुवारसहितको टोली विमानस्थलको परीक्षण उडानमा सहभागी भएका थिए । परीक्षण उडानपछि नियमित उडान भर्ने तयारी गर्ने प्रतिबद्धतासहित नागरिक उड्ययन प्राधिकरणका पदाधिकारी, सांसद र मन्त्री फर्किएका थिए । उनीहरु फर्किएको १ वर्ष विते पनि उडान हुन सकेको छैन । पर्यटन प्रबद्र्धनमा विमानस्थलले महत्वपूर्ण योगदान गर्ने आशमा रहेका खिजीबासी निराश बन्ने अवस्था आएको स्थानीय युवा चम्पक सुनुवार बताउँछन् ।उडान नभएपछि कच्ची विमानस्थल अहिले गौचरण जस्तो भएको छ । कतै वर्षात्का कारण भत्किएको छ भने कतै झाडी पलाएको छ । पर्यटकीय क्षेत्रलाई लक्षित गरेर निर्माण थालेको उक्त विमानस्थल २०७६ मंसिरमा पुरा भएको थियो । निर्माण सकिएको एक हप्तामै परिक्षण उडान भए पनि नियमित उडानका लागि आवश्यक सुधारका काम समेत हुन सकेनन् ।
कालोपत्रे गर्न स्थानीयको माग;
विमानस्थलको स्तरोन्नति र कालोपत्रे नभए वर्षादमा उडान नहुने भएकाले कालोपत्रे गर्नु पर्ने स्थानीयको माग छ । विमानस्थलमा उडान हुँदा हवाइ मार्गबाट आएका पर्यटकलाई देम्वा, पिकेहुँदै सगरमाथा लैजान सकिन्छ । प्लेनमार्फत जानका लागि समेत मन्थली भन्दा नजिक पर्छ । सगरमाथा जाने पदमार्ग पनि स्तरोन्नति गरेर विमानस्थल सुचारु गर्न सके यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय युवा सुदिप सुनुवारले बताए ।तर, निर्माण सकिन १३ वर्ष लागे जस्तै परिक्षण उडान भएको १३ महिना पुग्नै लाग्दा समेत विमानस्थलको सुधारका काम हुन सकेन । परिक्षण उडान भएको दुई महिनापछि नै कोरोना संक्रमण, लकडाउन लगायतका संकट आइ लागेकाले पर्यटकीय क्षेत्र खिजीदेम्वाको विमानस्थल ओझेलमा परेको सांसद यज्ञराज सुनुवारले बताए । ओखलढुंगा हुँदै सगरमाथा जाने पदमार्गका बीचमा रहेको विमानस्थल नियमित चल्न सके पर्यटक भित्र्याउन सहज हुने भएकाले मन्त्रालयमा यसबारे पुनः ध्यानाकर्षण गराइने सांसद सुनुवारको भनाइ छ ।परिक्षण उडानकै समयमा स्थानीयले मन्त्री समक्ष माग पत्र नै पेश गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका थिए । उनीहरुले ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अगुवाइमो माग पत्र पेश गर्दै खिजीचण्डेश्वरी विमानस्थलमा ठूला जहाज अवतरण गर्न मिल्ने गरी स्तरोन्नति र कालोपत्रेको माग गरेका थिए ।
निर्माण गर्नै १३ वर्ष ;
रनवे करिब ४० मिटर चौडा र पाँच सय ८० मिटर लामो छ । विमानस्थल सम्पन्न गर्नै १३ वर्ष लागेको थियो । ३ करोड बढी खर्चेर बनाइएको उक्त विमानस्थल ०६३ सालमा निर्माण सुरु भएको थियो । पर्यटकीय क्षेत्र, सडक यातायातको पहुँच कम, तथा खिजीबाट लुक्लालगायतका ठाउँमा पर्यटक जान नजिक र सस्तो पर्ने भएकाले यो विमानस्थल सुचारु गर्नुपर्ने स्थानीयको माग छ । यो विमानस्थल खिजीको लाइफलाइन भएकाले कालोपत्रे गरेर नियमित उडान गर्नुपर्नेमा स्थानीयको जोड छ ।
यो विमानस्थलबाट ४ घण्टा पैदल दूरीमा नेपालका ७ अग्ला डाँडामध्येको एक देम्वाडाँडा पर्छ । यो पहाडी क्षेत्रकै पर्यटकीय स्थल हो । विमानस्थलदेखि देम्वासम्म संघीय सरकारको अनुदानमा पद मार्ग निर्माण भएको छ, तर देम्वा आउने पर्यटक ल्याउनका लागि दोमस विमानस्थल सुचारु गर्ने काममा स्थानीय सरकारले समेत चासो नदिएको स्थानीय गुनासो गर्छन् ।