सप्तरी – उपल्लो डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिकामा झन्डै दुई वर्षपछि सरकारी अनुदानको चामल पुग्दै छ । तर, स्थानीय सरकारले भने घरपिच्छे एक/एक क्विन्टल पिठो (मैदा) अनुदानमा उपलब्ध गराएको छ ।
गाउँपालिकामा करिब ५ सय परिवार बस्छन् । उनीहरूलाई ढुवानी अनुदानमा पिठो दिइएको गाउँपालिका प्रवक्ता क्याल्पो थापा भोटेले बताए । उनका अनुसार एक क्विन्टल पिठोमा ७ हजार रुपैयाँ अनुदान दिइएको छ । बाँकी ७ हजार रुपैयाँ भने स्थानीयवासी आफैंले बेहोरेका छन् । नेपालगन्जबाट एक क्विन्टल पिठो डोल्पोबुद्ध पुर्याउन १४ हजार रुपैयाँ लाग्छ ।कोरोना महामारीका कारण स्थानीयको आम्दानी गुमेपछि गाउँपालिकाले पिठोमा अनुदान दिएको उनले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा पिठोमा अनुदान दिन ५० लाख रुपैयाँ छुट्याएको थियो । ‘ढुवानी खर्च धेरै महँगो भएकाले स्थानीय तहले सहयोग गरेको हो,’ उनले भने, ‘यसबाट स्थानीयवासीलाई धेरै राहत भएको छ ।’यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्चागुम्बु हो । उनीहरूले यार्चागुम्बु बेचेर कमाएको रकमले चीनको तिब्बतमा लाग्ने व्यापार मेलाबाट वर्षभरिलाई पुग्ने खाद्यान्न र अन्य सरसामान किन्ने गर्छन् । तर, यस वर्ष कोरोना महामारीका कारण न त यार्चागुम्बु टिप्न पाए, न व्यापार मेला नै हुन सक्यो । जसले गर्दा आम्दानी मात्रै गुमेन, खाद्यान्नलगायत सामग्रीसमेत किन्न पाएनन् । ‘यसले गर्दा गाउँपालिकामा खाद्यान्न अभाव भएको देखियो, त्यसपछि पिठो ढुवानीमा अनुदान दिएका हौं,’ उनले भने, ‘हामीले माग गरेपछि नेपाल सरकारले पनि चामल पठाएको छ, केही दिनभित्र आइपुग्ला ।’ स्थानीय फुर्बा गुरुङले पालिकाले पिठो ढुवानीमा अनुदान दिएपछि ठूलो राहत मिलेको बताए । गाउँमा पर्याप्त आम्दानी नहुने र बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यताले गर्दा बर्सेनि स्थानीयले खाद्यान्न संकट भोग्दै आएका उनले गुनासो गरे । ‘हामीले यार्चा टिपेर चामल किनेर खान्छौं, यस वर्ष कोरोनाले यार्चा टिप्न पनि दिएन,’ उनले भने, ‘यस्तो बेला सरकारले सहयोग गरेपछि खुसी लागेको छ ।’झन्डै दुई वर्षदेखि अनुदानको चामल नपुगेको डोल्पोबुद्धलगायत उपल्लो डोल्पाका छार्कातान्सोङ र शे–फोक्सुन्डो गाउँपालिकामा नेपाल सरकारले हालै मात्र चामल पठाउन थालेको छ । खाद्यान्न अभाव भएपछि त्यहाँ छोटो प्रक्रियाबाट टेन्डर गरी ३ हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले केही दिनभित्र सबै चामल सम्बन्धित गाउँपालिकामा पुग्ने जानकारी दिए । उनका अनुसार दिनेश निर्माण सेवाले चामल ढुवानीको जिम्मा लिएको छ ।
उपल्लो डोल्पाका ग्रामीण भेगमा चामल प्रतिक्विन्टल १२ देखि २० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । अब कम्पनीको चामल पुगेपछि स्थानीयले प्रतिबोरा साढे ५ हजार रुपैयाँसम्ममा किन्न पाउनेछन् ।