सप्तरी – नेत्रविक्रम चन्द समूहद्वारा स्थानीय प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएकै दिन गत मंगलबारदेखि मोरङको मिक्लाजुङ क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अस्थायी अपरेसन क्याम्प राखेर खोजतलास र निगरानी गरिरहेका छन् ।
मिक्लाजुङमै सुरक्षा बेस क्याम्प राख्न चाहे पनि गृह मन्त्रालयबाट स्वीकृति आइनसकेकाले अस्थायी अपरेसन क्याम्प राखेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।श्रेष्ठ हत्यापछि कानुनी प्रक्रियाका लागि घटनास्थल पुगेको एक प्रहरी टोली भने सोही दिन फर्केको थियो । बाँकी तीन टोलीले हत्याराको खोजतलास जारी राखेका छन् । एक साताको खोजतलासका क्रममा मसलन्द सकिएपछि तीनमध्ये प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको ४० जनाको टोली घटनास्थलबाट शुक्रबार फर्केको थियो । यसलगत्तै जिल्लाबाट प्रहरी निरीक्षक नेतृत्वको अर्को टोली परिचालन गरिएको थियो । अहिले त्यहाँ ३६ जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरी रहेको एक, दुवै सुरक्षा निकायका १५/१५ जना सम्मिलित एक र मोरङ प्रहरीको अर्को टोली हत्यामा संलग्नको खोजीमा खटिएका छन् ।अस्थायी सुरक्षा बेस क्याम्पको स्थापना भइनसकेकाले ‘अपरेसन बेस क्याम्प’ टोलीमार्फत कारबाही अघि बढाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार तीनवटै टोलीले आवश्यकताअनुसार हरेक दिन बेग्लाबेग्लै ठाउँमा बस्दै निगरानी गरिरहेका छन् ।घटना भएकै दिन जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसेर मिक्लाजुङ–१ मा सुरक्षा क्याम्प राख्ने निर्णय गरिसकेको छ । ‘गृह मन्त्रालयको मञ्जुरी मागिएको हो, अनुमति प्राप्त हुनेबित्तिकै क्याम्प राख्छौं,’ उनले भने, ‘यस्तो क्याम्प अवस्था हेरेर ६ महिना, एक वर्ष र त्योभन्दा लामो समयका लागि बस्न सक्छ ।’ यस्तो सुरक्षा क्याम्प अस्थायी प्रहरी चौकीभन्दा पनि स्तरीय, तुरुन्तै कारबाहीमा खट्न सक्ने र खटिएका अपरेसन टोलीलाई थप मद्दत गर्न सक्ने क्षमताका हुने गरेको उनले बताए । ‘यो अस्थायी कमान्ड पोस्ट जस्तै हो,’ उनले भने ।उक्त क्षेत्रमा सुरक्षा बेस क्याम्प स्थापनाका लागि गृह मन्त्रालयको निर्देशन कुरिरहेको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए । ‘सम्पूर्ण तयारी पूरा भइसकेको छ, आदेशलगत्तै स्थापना हुन्छ,’ उनले भने ।मिक्लाजुङ–१ रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गत मंगलबार बिहान घरबाट अपहरणपछि घाँटी रेटेर हत्या भएको थियो । हत्याको जिम्मेवारी चन्द समूहले लिए पनि संलग्नको पहिचान हुन सकेको छैन । रमिते धनकुटा, इलाम र पाँचथरसँग जोडिएको गाउँ हो ।
घटनास्थल रमितेसहित उत्तरी मोरङको माथिल्लो क्षेत्रमा सुरक्षा निकायको उपस्थिति कमजोर छ । उत्तरी क्षेत्रका साविकका रमिते, भोगटेनी, याङशिला, टाँडी, केराबारी, जाँते र लेटाङ गाविसको पहाडी क्षेत्रमा सुरक्षा निकायको उपस्थिति छैन । त्यस क्षेत्रमा करिब तीन किलोमिटर टाढा रहेको उर्लाबारी, पथरी, लेटाङ र बेलबारी इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बाध्यता छ ।