सप्तरी – कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संवैधानिक परिषद्को बैठकमा पार्टी सभापति शेरबहादुर देउवा जानै नहुने बताएका छन् । संविधानले व्यवस्था गरेअनुरूप प्रतिनिधिसभामा कांग्रेसले उपसभामुख पाउनुपर्ने भए पनि त्यसतर्फ कुनै निर्णय नभएकाले कांग्रेस परिषद्को बैठकमा जानुको अर्थ नहुने उनको भनाइ छ ।
प्रेस युनियन कैलालीले मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले प्रतिपक्षी दलले अहिलेको अवस्थामा सरकारमा जाने लालच राख्न नहुने पनि बताए । नेता थापाले ‘राजा आऊ देश बचाऊ’ भन्दै युवा सडकमा आउनुमा सबै राजनीतिक दलहरू जिम्मेवार रहेको धारणा राखे । ‘मुख्य कारण अहिलेका राष्ट्रपतिको कार्यशैली हो,’ उनले भने, ‘युवाहरूमा चरम निराशा पैदा भएर अहिलेका राष्ट्रपतिभन्दा त उहिलेका एक थान संवैधानिक राजा नै ठिक थिए भन्ने भावना जागेको हो ।’ तर उनले अहिलेको अवस्थामा राजा फर्किने कल्पना कसैले गर्नु व्यर्थ हुने जिकिर गरे ।अहिलेको सरकारले हठात् संसद् बन्द गरिदिएकाले नेपाली कांग्रेस सडकमा आउन बाध्य हुनुपरेको थापाले दाबी गरे । ‘शक्तिको चरम दुरुपयोग गरिरहेको अहिलेको सरकार ठेगान नलागेसम्म कांग्रेसले सडक र संसद् दुवैबाट एकसाथ विरोध जारी राख्छ,’ उनले भने ।
कोराना संक्रमणका बिरामीभन्दा पनि कोरोनाबाहेकका बिरामीको उपचार व्यवस्थामा अहिलेको सरकारले बेवास्ता गरेको भन्दै थापाले सरकारको आलोचना गरे । ‘अहिलेको सरकारलाई जनताका सवालको कुनै वास्तै छैन,’ उनले भने । विगतका गुट–उपगुट हराउँदै गएको जनाउँदै थापाले पार्टीभित्र आगामी महाधिवेशनमा नयाँ संरचना निर्माण भएर नेतृत्व चयन हुने बताए ।