सप्तरी – मुलुकका आठ विश्वविद्यालयमध्ये लुम्बिनी बौद्ध विश्वविद्यालय आर्थिक सुशासनमा उत्कृष्ट भएको छ। अघिल्लो आर्थिक वर्ष महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षणमा बौद्ध विश्वविद्यालयको बेरुजु र पुरानो फस्र्याेट मापदण्डभित्र नै कायम भएपछि उत्कृष्ट ठहरिएको हो। आर्थिक सुशासनको मूल्यांकनमा बेरुजु महत्वपूर्ण सूचक मानिन्छ।
बेरुजु फस्र्योट मूल्यांकन तथा अनुगमन समितिको मापदण्डअनुसार पुरानो बेरुजु ८० प्रतिशतभन्दा धेरै फस्र्योट गर्ने र नयाँ लेखापरीक्षणमा १ दशमलवभन्दा कम बेरुजु हुनुलाई उत्कृष्ट मानिन्छ। बौद्ध विश्वविद्यालयले गत असार मसान्तसम्म अघिल्ला आर्थिक वर्षको ८० दशमलव शून्य ५ प्रतिशत बेरुजु फस्र्याेट गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु शून्य दशमलव ३५ प्रतिशत मात्रै रहेको छ।
आर्थिक वर्ष २०७५/०७६ मा ४५ करोड १७ लाखको लेखापरीक्षण सम्पन्न भएको थियो। त्योमध्ये १५ लाख ७६ हजार बेरुजु निस्किएको छ।