सप्तरी – गत वर्षसम्म पनि खिजिदेम्बा गाउँपालिका अतिदुर्गमका रूपमा परिचित थियो । यहाँबाट सदरमुकाम आउन छिमेकी जिल्ला कि त सोलुखुम्बू वा कि रामेछाप, सिन्धुली र उदयपुर घुमेर आउनुपर्थ्याे।
हिउँदको समयमा ओखलढुंगाको जन्तरधाप, सोलुको टाप्टिङ हुँदै कच्ची सडक चले पनि वर्षा सुरु हुनासाथ बन्द हुने गरेको थियो । गाउँपालिका केन्द्रबाट काठमाडौं जान जति सहज थियो, त्यसभन्दा अप्ठ्यारो र लामो सडक पार गर्दै छिमेकी जिल्ला घुमेपछि मात्र सदरमुकाम ओखलढुंगा पुग्न सकिन्थ्यो । यही दुःख खेपेका जनप्रतिनिधि स्थानीय तहदेखि संघीय संसदसम्म पुगेपछि खिजिदेम्बा सुगम बन्दै गएको छ । अब खिजिदेम्बाबाट चारैतिर नाका खुल्न थालेका छन् । संघीय, प्रदेश सरकारको बजेट तथा स्थानीय तहको प्रथामिकतामा परेपछि सडक विस्तारले तीब्रता पाएको छ । सोलु र रामेछाप हुँदै सदरमुकाम आउनुपर्ने स्थानीयको बाध्यता अब टरेको छ । खिजिदेम्बाबाट मोलुङको श्रीचौर हुँदै ओखलढुंगा आउने ट्र्याक खुलिसकेको छ । यस सडकका लागि सांसद यज्ञराज सुनुवारले पूर्वाधार साझेदारी कार्यक्रममा तीन वर्ष लगातार गरेर एक करोड रुपैयाँभन्दा बढी बजेट विनियोज गरेर प्रथामिकता दिएका थिए । त्यस योजनामा खिजिदेम्बा र मोलुङ गाउँपालिकाले साथ दिएपछि खिजिफलाटे-हातेबन्से-श्रीचौर-ओखलढुंगा सडक गत कात्तिकमा खुलेको छ । अहिले गाउँपालिकाले आन्तरिक सडक कालोपत्रेको योजना अघि सारेको छ । संघीय समपूरक बजेटअन्तर्गत लिखु-भुसिंगा सडक कालोपत्रेको तयारी थालिएको छ ।५५ किलोमिटर लामो लिखु-भुसिंगा सडकलाई चरणबद्ध रूपमा खण्ड-खण्ड गर्दै बहुवर्षीय योजनाका रूपमा काम गर्ने योजनाका साथ कालोपत्रेको ठेक्का लगाइएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए ।खिजिदेम्बा गाउँपालिकाले आफ्नो सीमित बजेटका बाबजुद पनि संघीय समपूरक बजेटबाट योजना छनोट गरी कालोपत्रे गर्न लागेको गाउँपालिकाले जनाएको छ । हाल उक्त सडकलाई बजेटको व्यवस्था गरिदिन अझै पनि विभिन्न कोणबाट संघीय सरकारसँग पहल गरिरहेको अध्यक्ष रोकाले बताए ।
खिजिदेम्बा गाउँपालिकाले यसअघि लिखु-भुसिंगा सडकको स्तरोन्नति गरेपछि सार्वजनिक यातायात संचालनमा आएका थिए । हाल सो सडकमा अरनिको र संयुक्त यातायातका बसहरू दैनिक संचालनमा रहेका छन् । हाल काठमाडौंबाट खिजिफलाटे, रगनी र खिजिकाती गरी तीन ठाउँमा सुपर बस संचालनमा छन् । थप सेवा विस्तारका लागि काठमाडौंदेखि रावादोलु-भुसिंगासम्म सार्वजनिक बस संचालनको तयारी भइरहेको छ । यसका लागि खिजिचण्डेश्वरी-खिजिकाती सडक र खिजिफलाटे-रावादोलु-भुसिंगा सडक खण्डमा सुधारको काम पनि सुरु भएको छ ।
सदरमुकाम जोड्ने विकल्प सडक
ठूलो भूगोल र पातलो वस्ती भएको गाउँपालिका रहेकाले सदरमुकामको सहज पहुँचको कुरालाई मध्यनजर गर्दै खिजिदेम्बा गाउँपालिकाले सदरमुकाम जोड्ने विकल्प सडकमा जोड दिइरहेको छ । पहिले सदरमुकामसँग सडक नजोडिँदा खिजिदेम्बाबाट रामेछापको ढाँडे, शिरीषे, मन्थली, सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी हुँदै ओखलढुंगा सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । अहिले खिजिदेम्बाका चार ठाउँबाट सदरमुकाम सडक जोडिसकेको छ । यसमा भुसिंगा-पात्ले-धाप-ओखलढुंगा, खिजिफलाटे-पात्ले-धाप-ओखलढुंगा, खिजिफलाटे-नयाँवन-श्रीचौर-रामपुर-ओखलढुंगा र खिजिफलाट-हातेबन्से-श्रीचौर-ओखलढुंगा सडक रहेका छन् ।
यी सडकको ट्र्याक खुलेर स्तरोन्नतिपछि गाउँपालिकाका सबै क्षेत्रमा सडक विस्तार हुनेछन् भने चारैतिरका नाका खुल्नेछन् । सडकको पहुँच पुगेपछि यस क्षेत्रका उत्पादन तराईदेखि काठमाडौंसम्म पुर्याउन र पर्यटकीय क्षेत्रमा पयर्टकसमेत सहज रूपमा आउने खिजिदेबावासीको आशा छ ।