सप्तरी – अमेरिकाका सबै ५० ओटा राज्य तथा डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् ।
अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै अब आगामी सोमबार अर्थात् डिसेम्बर १४ मा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नेछन् ।राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पले २ सय ३२ इलेक्टोरल मतमात्र प्राप्त गर्नुहुनेछ । राष्ट्रपति बन्नका लागि कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ७० मत आवश्यक पर्दछ । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहेपनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका छन् ।यसैबीच, राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ । राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनुभएका चारओटा राज्यको मतगणनामा समावेश गरिएका लाखौं मतपत्र खारेज गर्न राष्ट्रपति ट्रम्पले सर्वोच्चमा निवेदन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पको नयाँ कदमको समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा रिपब्लिकन पार्टीभित्रै विवाद उत्पन्न भएको छ ।