सप्तरी – चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको दुर्लभ घडियाल गोही प्रजनन् केन्द्रमा भाले गोही बूढो हुँदा प्रजननमा समस्याभएको छ ।
गोही बूढो हुँदा प्रजनन केन्द्रमा रहेका पोथी गोहीमा प्रजननक्रिया भएपनि अण्डा बाट बच्चा नहुने गरेको प्रजनन् केन्द्रका सहायक वार्डेन तथा गोही बिज्ञ बेदप्रसाद खड्काले बताउनु भयो ।
चितवनको यो प्रजनन् केन्द्रमा हाल १ मात्र भाले गोही रहेको र उक्त भाले गोहीबाट करीब ५/६ बर्षदेखि प्रजननमा समस्या देखिएको उहाँले बताउनु भयो ।
४२ बर्षीय यो भाले गोहीबाट गोही प्रजननमा समस्या भएपछि भाले गोही भारतबाट ल्याउने तयारी भइरहेको चितवन राष्ट्रिय निकुज्जका वार्डेन अणनाथ बरालले बताउनु भयो ।
प्रजनन केन्दमा हाल ११ वटा पोथी गोही रहेको र यी गोहीहरुले पारेको करिब ३ सय अण्डाबाट एउटा पनि बच्चा नभएको सहायक वार्डेन खड्काले बताउनु भयो ।
गोहीहरुको प्रजनन हुन्छ तर अण्डा पार्दा भाले नलागेको अण्डा पार्ने गरेपछि भाले गोहीमा समस्या देखिएको हुनसक्ने केन्द्रले जनाएको छ ।
२०३५ सालमा घडियाल गोही संरक्षण गर्ने उद्देश्य स्थापना गरिएको उक्त प्रजनन केन्द्रबाट हालसम्म नारायणी, कोशी, राप्ती, बबई र कर्णाली नदीमा गरी १ हजार ५ सय वटा छाडिएका छन ।
यो प्रजनन् केन्द्रमा हाल ६ सय ५७ वटा घडियाल गोही रहेका छन ।