सप्तरी – कोरोना महामारीको असर बढिरहेका बेला काठमाडौँ उपत्यकाका केही स्थानीय तहहरुले भने विद्यालय सञ्चालन गर्न थालेका छन्।
गोकर्णेश्वर नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएसँगै विद्यालयहरूले पठनपाठन सुरु गरेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनभन्दा अघिदेखि बन्द भएका विद्यालयमा १० महिनापछि पठनपाठन सुरु भएको हो।केही विद्यालयले लकडाउन र निषेधाज्ञाका सयममा पनि भर्चुअल रूपमा विद्यालयको पठनपाठन गराएका भएपनि त्यो प्रभावकारी र सबैको पहुँचमा थिएन। अब भने विद्यार्थीको भौतिक उपस्थितिमा नै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्न थालिएको हो। गोकर्णेश्वर नगरपालिकाले हालै विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। संघीय सरकारले विद्यालय संचालनबारे निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएपछि स्थानीय तहले यस्तो निर्णय गरेको नगरपालिकाले जानकारी दिएको छ।कागेश्वरी मनोहरा र काठमाडौँ महानगरपालिकासँग जोडिएको उक्त नगरपालिकाले विद्यालय र अभिभावकसँगको लगातार बैठकपछि विद्यालय खोल्ने निर्णयमा पुगेको हो।
गोकरर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अब विद्यालय सञ्चालन नगर्दा बालबालिकालाई मनोसामाजिकदेखि अन्य विविध असर पर्ने देखिएकाले सञ्चालनमा ल्याएको बताए।