सप्तरी – झापामा यसवर्ष प्रदेश १ को अन्य जिल्लाको अनुपातमा बढी धान उत्पादन भएको छ। विराटनगरस्थित प्रदेश १ कृषी निर्देशनालयका अनुसार प्रदेशका १४ जिल्ला मध्ये झापामा यसवर्ष ४ लाख १५ हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन भएको छ।
निर्देशनालयका अनुसार समग्रमा गतवर्षको तुलनामा यसवर्ष प्रदेशभर धान उत्पादन ९ प्रतिशतले बढेको छ। प्रदेशभर ३ लाख ३२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको जानकारी दिदै निर्देशनालयकी सूचना अधिकारी सरस्वती श्रेष्ठले यसवर्ष प्रदेशमा १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको बताईन्। त्यसैगरि गतवर्ष ३ लाख २० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा ११ लाख ९८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।यसैगरि मोरङमा यसवर्ष ३ लाख ४९ हजार ६० मेट्रिक टन धान उत्पादन भएको छ । निर्देशनालयका अनुसार सुनसरीमा २ लाख ३० हजार ६ सय ९२ मेट्रिकटन धान उत्पादन भएको छ।त्यसैगरि, पहाडी जिल्लामा पाँचथरमा २२ हजार ३ सय १८, ईलाममा ५१ हजार ५ सय १६, भोजपुरमा ३९ हजार १ सय १७, तेह्रथुममा २१ हजार १ सय ८७, धनकुटामा २३ हजार ४ सय २९, उदयपुरमा ५४ हजार ८ सय ५८ ,ओखलढुंगामा १३ हजार २ सय ९ र खोटाङमा २९ हजार ३ सय ४२ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।यस्तै ताप्लेजुङमा २१ हजार ८२, संखुवासभामा ३६ हजार १२ र सोलुखुम्बुमा ३ हजार ६ सय २० मेट्रिकटन धान उत्पादन भएको छ।
निर्देशनालयका अनुसार यसवर्ष समयमा वर्षा, मौसम अनुकूल भएको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा बृद्धि भएको निर्देशनालयको भनाइ छ।