सप्तरी – सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख दीपेन्द्र पाण्डेका अनुसार करिब ४८ प्रतिशत काम सम्पन्न भएको छ । चालु आर्थिक बर्षमा पुलहरुका काम सम्पन्न गर्ने र २ बर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी दिनुभयो ।पाण्डेका अनुसार झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भई सकेको छ । उहाँले भन्नुभयो,‘ रंगेली र विराटनगरमा सडकमा केही समस्या छ ।’ रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्व–पश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाई छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उहाँले बताउनुभयो । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेको भनाई छ ।सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार नै हुलाकी राजमार्गको विषयमा आयोजना प्रमुखसँग छलफल गर्नु भएको थियो । आगामी २ बर्षभित्रमा राजमार्ग सञ्चालनमा ल्याउने गरि आयोजनाले काम गरेको भन्दै मन्त्री घिमिरेलाई खुशी व्यक्त गर्नु भएको थियो ।
उहाँले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताउनुभयो । हुलाकी सडकको चर्चा धेरैभएपनि काम नदेखिएको मन्त्री घिमिरेले बताउँदै आवश्यकता पर्दा राजनीतिक रुपमा सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने बताउँदै मन्त्री घिमिरेले आवश्यकता पर्दा प्रदेश सरकारसँग सहयोग लिन सकिने बताउनु भएको थियो ।मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरंग सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ ।
ज्ञवालीले चालु आर्थिक बर्ष भित्रमा करिव १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताउनुभयो । पुल निर्माणका लागि आवस्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उहाँले बताउनुभयो । सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराउनु भएको थियो ।