सप्तरी – रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा विशेषज्ञसहितको सुविधासम्पन्न नयाँ बहिरंग विभाग (ओपिडी) सञ्चालनमा आएको छ ।
ओपिडी भवनको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे । मन्त्री बरालले प्रदेश सरकारले स्वास्थ्य सेवा सुधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको बताए । ‘अस्पतालमा कुनै प्रकारको कमी हुन नदिन बजेट उपलब्ध गराएका छौँ ।’स्वास्थ्य सेवामा अहिले पनि जनशक्ति अभाव रहेकाले पदपूर्ति गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।‘स्वास्थ्यमा अहिले पनि २०३५ कै जनशक्तिले थेगिरहेको छ । थोरै जनशक्तिले पनि उच्चस्तरीय सेवा दिन सक्नुपर्छ । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सरकारी अस्पतालको उपचारात्मक सेवालाई बढीभन्दा बढी गुणस्तरीय बनाउने भन्नेमा ध्यान केन्द्रित गर्दै आएको छु,’ मन्त्री बरालले भने ।भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ताले नयाँ भवनमा आएसँगै बालरोग विशेषज्ञ, सर्जरी ओपिडी, नाक, कान, घाँटी ओपिडी, मेडिसिन ओपिडीलगायत सेवा सुरु गरिएको बताइन् । नयाँ भवनबाट अर्थो र प्रसूति सेवासम्बन्धी ओपिडी पुरानै भवनमा सञ्चालन हुने उनको भनाइ छ ।१९९० मा ३ शय्याबाट स्थापित अस्पतालले २०३५ मा १५ र २०४१ मा २५ शय्याको स्वीकृति पाएको थियो । १ सय शय्याको अस्पतालको रूपमा सरकारले घोषणा गरे पनि हाल २५ शय्याको स्वीकृतिमा अस्पतालमा ६० शय्याको बिरामीले सेवा लिइरहेका छन् ।
भीम अस्पतालले हाल ओपिडी सेवा, आकस्मिक, अन्तरंगमा प्रसूति र सामान्य चिकित्सा सेवा, मातृशिशु सेवा प्रयोगशाला, एक्सरे, इसिजी, डट्स उपचार, कुष्ठरोग उपचार, यूएसजी र एआरटी सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।