सप्तरी – पहिलो संविधानसभा निर्वाचनताका राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको भनिएको प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । राजपुर नगरपालिकाका मोहम्मद महताब आलमलाई आइतबार राति भारतको मोतीहारीबाट पक्राउ गरिएको हो ।
उनी सोही प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलमका भाइ हुन् । कांग्रेसका जिल्ला नेतासमेत रहेका महताब दाजु पक्राउ परेदेखि नै फरार थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।महताबकै परिवारका एक सदस्यले पनि उनी पक्राउ परेको पुष्टि गरेका छन् । यद्यपि जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले महताब पक्राउबारे बताउन आनाकानी गरे । मोतीहारीस्थित आफन्तकहाँ आएका महताबलाई रौतहट र भारतीय प्रहरीको संयुक्त टोलीले पक्रेर नेपाल ल्याउँदै गरेको प्रहरी स्रोतले बतायो । आरोपितमध्ये अहिलेसम्म पाँच जना पक्राउ परिसकेको जिल्ला प्रहरीले जनायो ।
२०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु), ओसी अख्तरलाई चिम्नी भट्टामा जिउँदै जलाइएको पूर्वमन्त्री आलम, भाइ महताबलगायत ११ जनामाथि आरोप छ । मुख्य आरोपित आलम पुर्पक्षका लागि गत कात्तिक २९ देखि काठमाडौंको नक्खु कारागारमा छन् ।मृतक पिन्टुका बुवा श्रीनारायण सिंह र अख्तरकी आमा रुक्साना खातुनले कांग्रेस नेता आलमलगायत ४ जनाविरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी दिएका थिए । घटनाको दुई महिनापछि २०६५ असार १ र ९ गते आलम र महताबसहित ४ जना पक्राउ परेका थिए । तर चारै जनाको म्याद थप गरेर एकै दिनमा अनुसन्धान सकी सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेस गरी साँझपख प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।आरोपितहरू छुटेपछि २०७१ मंसिर २० गते तर्फबाट छानबिन गरिपाउन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइएको थियो । न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट हालेपछि पुनः छानबिन गर्न आदेश भएको थियो ।
त्यसपछि पक्राउ परेका आलमविरुद्ध अनुसन्धानका क्रममा ७ सय पृष्ठ लामो मिसिल तयार भएको थियो । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थलगायत कसुरमा ११ जनाविरुद्ध जन्मकैद सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।