सप्तरी – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घरबाट निस्कने फोहोरमैलाबाट मल बनाउने तयारी गरेको छ ।
दिक्तेल बजारका घरबाट निस्कने कुहिने फोहोरमैलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल प्लान्टमा लगेर मलमा रुपान्तरण गर्ने तयारी गरेको हो । घरबाट निस्कने सागसब्जी, घाँसपात, फलफुल, खानेकुरा, कसिंगर जस्ता कुहिने फोहोरमैलालाई अलग-अलग राखिनेछ । त्यसरी छुट्याएर राखेको फोहोरलाई प्रत्येक आइतबार र बिहिबार ढुवानी गरेर कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्थाको तयारी पूरा भएको नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो ।सोल्मामा करोडौंको लगानीमा कम्पोष्ट मल प्लान्ट निर्माण सम्पन्न भएको केही समयपछि नगरपालिकाले फोहोरमैलालाई स्राेतबाटै वर्गीकरण गर्ने र कुहिने खालका फोहोरलाई कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्था गरेको हो । घरबाट सकेसम्म फोहोरमैला कम निकाल्ने र निस्किएका फोहोरलाई कुहिने, नकुहिने र शिशाजन्य फोहोरमा वर्गीकरण गरेर घरैमा राख्ने, बजारबाट निस्केको दिशाजन्य फोहोरलाई सोल्माकै वायोग्याँस प्लान्टमा लैजाने निर्णय गरिएको मेयर रिजालले बताउनुभयो । यस्तै, बजारमा राखिएका डस्टबिनमा पैदलयात्रीबाट निस्केको फोहोर मात्र राख्ने, नगरपालिकाले फोहोरमैला तथा सरसफाई सम्बन्धि आवश्यक नीति–नियम बनाउने र कार्यान्वयन गर्ने, टोल विकास समितिले फोहोरमैला तथा सरसफाई व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने, सबैले सरसफाई तथा फोहोरमैला व्यवस्थापनलाई एजेण्डाकै रूपमा प्रस्तुत गर्ने लगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ ।
दिक्तेलबजारका नकुहिने फोहोरमैलालाई भने नगरपालिकाले संकलन गरेर डम्पिङ साइटमा लगेर थन्काउँदै आएको छ ।