सप्तरी – म्याग्दीमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप फैलिएको छ ।
सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोप देखिएपछि पाक्ने बेलामा पहेँलो भएर सुन्तला झर्ने समस्या छ । बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप बढेको हो ।सुन्तलामा देखिएको औँसा किराबारे कृषि ज्ञान केन्द्र म्याग्दीले निरीक्षण र अवस्थाबारे अध्ययन सुरु गरेको छ । कृषि प्राविधिकको टोलीलाई परिचालन गरी बगैँचामै पुगेर रोकथामको लागि सर सल्लाह दिन थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।झरेका फलबाट अरु बोटमा समेत औँसाका किरा फैलने भएकाले झरेका फललाई व्यवस्थापन गर्न कार्यालयले अनुरोध गरेको छ । झरेका दानालाई प्लाष्टिकको झोलामा राखेर जमिनको सतहबाट एक फुट गहिरो खाडल खनेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाइ छ । त्यसका लागि कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो ।
म्याग्दीका ६ वटै पालिकामा ७ सय ६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गएकाे वर्ष दुई हजार ४ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गएकाे वर्षसमेत सुन्तलामा औँसाको प्रकोप लागेको थियो। यस वर्ष थप बढेको किसानले गुनासो गरेका छन् ।