सप्तरी – एमडीएच ग्रुपको मालिक महाशय धर्मपाल गुलाटीको मृत्यु भएको छ । माता चन्दनदेवी अस्पतालमा उनको उपचारकै क्रममा मृत्यु भएको आजतकले जनाएको छ । उनी केही दिनदेखि सोही अस्पतालमा उपचाररत थिए ।
उनको मृत्युमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत दुःख व्यक्त गरेका छन् ।उनको निधनप्रति भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि दुःख व्यक्त गर्दै भनेका छन्, “भारतका एक प्रतिष्ठित घरानियाका एक महासय धर्मपालजीको निधनले मलाई अत्यन्त दुखी बनाएको छ । सानो व्यवसायबाट सुरु गरेर अहिले आफ्नो पहिचान कायम गर्न सफल भएका थिए । उनी सामाजिक कार्यमा समेत अत्यन्त सक्रिय थिए । मैले उनको परिवारप्रति पनि समवेदन प्रकट गर्दछु ।”गृहमन्त्री अमित शाहले पनि सौम्य व्यक्तिको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । “सौम्य व्यक्तित्वका धनी महासय धर्मपालको संघर्ष र परिश्रमका एक प्रतीक थिए,” उनले भनेका छन्, “आफ्नो मेहनतले सफलताको शिखरमा पुगेका थिए ।” उनी सन् १९२३ मा अहिले पाकिस्तानमा रहेको सियालकोटमा जन्मिएका थिए । उनी पाँच कक्षामा अध्ययनकै क्रममा पढाई छाडिदिएका थिए ।उनले आफ्ना बुबा आमालाई सहयोग गर्नका लागि व्यापार सुरु गरेका थिए । साबुन, कपडा, हार्डवेयर, चामललगायतका व्यापारमा उनी संलग्न थिए । भारत र पाकिस्तानबीच विभाजन हुने बेलामा उनी दिल्लीमा आएका थिए । त्यसबेला उनीसँग जम्मा १५ सय रुपैयाँ रहेको आजतकले आफ्नो समाचारमा जनाएको छ ।
उनले दिल्लीको करोलबागमा एक मसला पसल खोलेका थिए । मसलाको कारोबारले नै उनको पहिचान खुलाएको थियो । अहिले एमडीएच ब्रान्ड स्थापित ब्रान्ड बनेको छ ।