सप्तरी – दश महिना लामो नाकाबन्दीले व्यवसाय धरापमा परेको भन्दै पूर्वी नाका काँकडभिट्टाका होटल र पर्यटन व्यवसायीले नाका खोल्न सरकारलाई दबाब दिन सुरु गरेका छन् ।
महामारी नियन्त्रणको प्रतिक्षाले व्यवसाय नै डुबेपछि उनीहरूले नाका खोल्न दबाब सुरु गरेका हुन् ।सिमान्त सहर काँकडभिट्टामा पर्यटन र होटल व्यवसाय धरासायी भएपछि व्यवसायीले स्थानीय प्रशासनमार्फत केन्द्र सरकारलाई दबाब दिएका हुन् । अन्य नाकामा आपसी समझदारीमा आवतजावतमा सहजता दिँदै व्यवसाय गर्ने वातावरण बनाइदिँदा झापामा बने कडाई गरिएको व्यवसायीको आरोप छ ।पूर्वीनाका भएर नेपाल प्रवेश गर्ने भारत, बंगलादेश, भुटान र अन्य देशका पर्यटकलाई झमेला दिएर सरकारले व्यवसाय ठप्प बनाएको छ । महामारीसँगै पूर्वी नाकामा सहज आवतजावत ठप्प हुँदा सिमावर्ती बजारको व्यवसाय ढामाढोल भएको छ ।भारतबाट नेपाल प्रवेश गर्दा ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको पिसिआर रिर्पोट र गृहन्त्रालयको आदेश अनिवार्य छ । जसका कारण भारतीय पर्यटक नआउँदा समस्या भएको ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले बताए ।
‘७२ घण्टाभित्र गरेको पिसिआर रिर्पोट भए सहजै आउने वातावरण बनाइनुपर्यो । गृहमा आदेश माग्ने अनावश्यक झन्झट दिँदा पर्यटक आउँदैनन् । गृहले आखिरी अनुमति दिइहाल्छ किन झमेला दिनुपर्यो ?’, कार्कीले नयाँ पत्रिकासँग भने, ‘सरकारले दिने झमेलाकै कारण पर्यटक नेपाल आउँदैनन् । जसलका कारण हामीलाई दैनिक हातमुख जोर्नै मुस्किल भयो ।’काँकडभिट्टामा भारतबाट आउने नेपाली र भारतीय नागरिक राख्नका लागि बनाइएको होल्डिङ सेन्टरमा विकृति बढेको भन्दै व्यवसायीले होल्डिङ सेन्टर हटाउन माग गरेका छन् ।दबाब स्वरूप उनीहरूले यसअघि काँकडभिट्टामा पहिलो दिन प्लेकार्डसहित मौन धर्ना कार्यक्रम गरे । दोस्रो दिन भने नारा र प्लेकार्डसहित काँकडभिट्टा बजार परिक्रमा गरे । दबाब स्वरूप नै उनीहरूले सोमबार (आज) मेचीनगर नगरपालिकाको कार्यालयमा धर्ना कार्यक्रम राखेको अध्यक्ष कार्कीले बताए ।सरकारले सिमानाका व्यवसायीलाई मध्यनजर गर्दै केही निर्णय गर्छ कि भनेर कुर्दा–कुर्दै दश महिना बितेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।
‘व्यवसाय चौपट भयो । अब त घर भाडा पनि तिर्न नसक्ने अवस्थामा पुग्यो । बैंकले महामारी छ तिमीहरूको कमाई छैन भनेर छाड्दैन रहेछ’, उनले भने, ‘हामी त काँकडभिट्टा छाडेरै भाग्ने अवस्थामा पुग्न लाग्यौँ । बोर्डरको व्यापार यस्तो रहेछ नाकाबन्द हुँदा चरामुसा कोही पनि होटलमा आउँदैन रहेछ । दमक बिर्तामोडतिर त पहाडका मान्छे आउँदा होटल व्यवसाय चलेकै छै । हामी मर्कामा पर्यौं । सीमाको आवतजावत सहज बनाइदिनपर्यो ।’जिल्ला प्रशासन कार्यालय झापाले भने व्यवसायीको यो समस्या जिल्ला प्रशासन तहबाट समाधान गर्न नसकिने जनाएको छ । अन्तर्राष्ट्रिय सीमाको विषय केन्द्र सरकारको अधिनमा रहने भएकाले केन्द्रको निर्देशन बाहिर गएर काम गर्न नसकिने झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।
‘हामीले केन्द्रको निर्देशन र पोलिसीअनुसार नाकामा कडाई गरेका हौँ । होल्डिङ सेन्टर पनि माथिको निर्देशनअनुसार नै बनाएका छौँ’, उनले भने, ‘उहाँहरूको मागमा हामीले यहाँ केही गर्नसक्दैनौँ । नाका खुकुलो सिडिओले बनाउने हैन । उहाँहरूमो माग र आन्दोलनको विषय प्रमुख जिल्ला अधिकारीले माथि रिर्पोटिङ गर्नुभएको छ ।’