२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – झापाको कचनकवल देशकै होचो भू–भागमा अवस्थित गाउँपालिका हो । केहीअघि एकै पटक डेढसय भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखियो ।

जनजीवन आतंकित जस्तै बन्यो । तर, अहिले कचनकवलको जनजीवन सामान्य बनिसकेको छ । संक्रमणको दर शून्यजस्तै छ । अवस्था सामान्य हुँदै गएपछि कचनकवलमा जनजीविकाका सबै ‘इन्जिनहरु’ पूर्ववत रुपमा सञ्चालन भइसकेका छन् । अन्यत्र धेरैतिर विद्यालय संचालन मात्र तयारी भइरहँदा कचनकवलमा भने विद्यालय खुलिसकेका छन् । गाउँपालिकाका अध्यक्ष अन्जरा आलम भन्छन्, “गाउँमा इन्टरनेटको पहुँच छैन । हामीले त स्वास्थ्य सावधानी र सरकारले तोकेको मापदण्ड अपनाएर विद्यालय खोलिसक्यौं ।” कचनकवल गाउँपालिकाले विद्यालय जोरबिजोरदेखि टोल कक्षासमेत अपनाउँदै अहिले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न सफल भएको अध्यक्ष आलम बताउँछन् । पालिकामा हेलो विद्यार्थी कार्यक्रम चलाइएको छ । जसअन्तर्गत शिक्षक र विद्यार्थीबीच सञ्चालन समन्वयको व्यवस्था गरिएको छ । विश्वकै शीर मानिने सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुमा केही विद्यालय विद्यार्थी उपस्थितिसहित सञ्चालनमा आएका छन् । केहीमा समूहगत रुपमा टोलमा भेला भई गृहकार्य गर्ने । कतिपयले भने अनलाइनकै भरमा पठन पाठन गरिहेका छन् ।

सोलुदूधकुण्ड गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मेघनाथ शर्मा भन्छन्, “जिल्लाको सदरमुकाम रहेको ठाउँमा बढी मानिसको आउजाउ हुने भएकोले त्यहाँका विद्यालय विद्यार्थी शिक्षकको भौतिक उपस्थितिसहित संचालनमा आउन सकेका छैनन् ।” अहिले सम्बन्धित विद्यालयले प्रत्यक्ष वा के कसरी गर्न कक्षा गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिरहेको बताए । वडा शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विद्यार्थीको समूह अलग अलग राखेर कक्षा सञ्चालन गर्ने, प्रत्यक्ष संचालन गर्ने काम कतिपय विद्यालयले गरिसकेको शर्माले सुनाए । हिमाली जिल्ला ताप्लेजुङमा जेठ १९ गते किताब वितरण गरियो । विद्यालयले एप बनाएर शिक्षक विद्यार्थीलाई जोडे त्यसमा अफलाइन अनलाइन पढाउन सक्ने व्यस्था गरियो । तर, ‘डिस्टेन्स लर्निङ’मा विद्यार्थीको रुचि देखिएन । साउन ४ देखि भौतिक कक्षा शुरु भयो । स्वास्थ्य सावधानी अपनाएर जोरबिजोर प्रणालीमा पनि कक्षा चल्यो । भानुचन मावि ताप्लेजुङका प्रअ किशोर राई भन्छन्,“अब भौतिक उपस्थितिसहितको कक्षा सञ्चालन हुन थालेको छ । हामी छेउछाउका कतिपय विद्यालयले संचालन गर्ने तयारी गरिरहेका छन् ।”पाँचथरका अभिभावक बुद्ध लिम्बू शुरुमा डराएको अवस्था रहेको र अहिले पनि विश्वलाई नै त्राहीमाम बनाएको भन्दै विद्यालय पूर्णरुपमा खोल्दा संक्रमण फैलन सक्ने त्रास रहेको बताए ।

“फिदिम माविमा धेरै विद्यार्थी छन् । यस्तो अवस्थामा विद्यार्थी पठाउन सक्ने अवस्था छैन । एउटा विद्यार्थीबाट अर्को विद्यार्थीमा सरेमा के हुन्छ ? ठूलो संख्या छ । सहरी क्षेत्रमा इन्टरनेटबाट पढाउन सकिन्छ,” लिम्बूले भने,“औषधि र उपचारको वातावरण नहुन्जेल विद्यार्थी लगाउन हुन्न ।”झापाको दमक नगरपालिकाले विद्यालयमा सम्भावित संक्रमणको जोखिमलाई हेरेर एउटा कक्षा आइसोलेसन नै बनाउन निर्देशन दिएको छ । मास्क अनिवार्य र थर्मल गनले तापक्रम नाप्ने प्रबन्ध गर्न भनेको छ । नगरपालिकाकी उपमेयर गीता अधिकारी भन्छिन्, “संक्रमण बढेपछि बीचमा हामीले विद्यालय फेरि बन्द गर्न भनेका थियौं तर अब पढाइ रोक्ने अवस्था छैन । विद्यालयले नै आईसोलेसन एउटा राख्ने गरी विद्यालयसंग दमक नगरपालिकाले कार्ययोजना मागेको छ । अब कक्षा सञ्चालन गर्ने तयारी छ ।” मोरङको ग्रामथान गाउँपालिकाको सरस्वती उच्च माविले तीन सिफ्टमा कक्षा सञ्चालन गरिरहेको छ । एउटा कक्षामा २० जना विद्यार्थी मात्र राखिन्छ । गेटमै हात धुन लगाइन्छ । तापक्रम नापिन्छ । विद्यालय नर्सले स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिने कार्य गर्छन् । प्रधानाध्यापक अशोक लुइँटेल भन्छन्,“अभिभावकले समेत कक्षा संचालन गर्न आग्रह गरेकोले हामी अब बिहान १० बजेदेखि ४ बजेसम्म फूल सिफ्टमा कक्षा चलाउने तयारीमा छौं ।”

झापाको धुलाबारी माविका शिक्षक लेखनाथ पराजुली नेपाल सरकारले जारी गरेको निर्देशनअनुसार ‘क्लासवाइज’ अभिभावक भेला गरेर जोरबिजोर प्रणालीमा कक्षा संचालन गर्ने तयारी रहेको सुनाए । भने,“कक्षा ८, ९ र १० का अभिभावकले विद्यार्थी ल्याउने लैजाने गर्ने तर विद्यालयमा पसेपछि विद्यालयको जिम्मेवारी हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।”सबैमा इन्टरनेटको पहुँच नरहेकोले अब भौतिक उपस्थितिसहितको कक्षा सञ्चालन गर्नुपर्ने अभिभावकको भनाई रहेको पराजुली बताउँछन् । महेन्द्र मावि इटहरी प्रअ मेदनकुमार घिमिरे असोजभरि जम्मा कार्यक्षेत्रलाई तीनभागमा विभाजन गरी एक टोल एक दिन अर्को टोल अर्को दिन गरी कक्षा लगाएको बताए । “कात्तिक दसैंतिहार छुट्टि भयो । विद्यार्थी आएनन् । शिक्षक अभिभावक संघ ७० जनाको भेला गरियो । एउटा विद्यार्थी दुई दिन आउन पाउछन् । दुई टोलमा विभाजन गरियो । अब विद्यार्थी तीन दिन आउने गरी व्यवस्था गरेका छौं,” घिमिरले भने, “चारसय विद्यार्थी छन् । अभिभावकले पढाइदिनू भनेका छन् । नगरले टोलवाइज गरेर पढाउँदै छौं । बुधबारबाट सबै विषय ३० मिनेटको घन्टी बनाएर पढाउने तयारी छ ।” विद्यालयले धारा र शौचालयमा एक जनालाई मात्र जान दिने प्रबन्ध गरिएको घिमिरे बताउँछन् । मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थिति नरग्राम उमाविका प्रअ भीमबहादुर बस्नेतले विद्यालय सञ्चालन गर्नको लागि वैकल्पिक सिकाइ सहजीकरण, अनलाइन, टोल शिक्षा जस्ता नियमित काम सञ्चालन भएको बताए । मंसिर चारगते प्रअ बैठक बसेर गाउँपालिकाको बैठकमा विद्यालय भौतिक रुपमा संचालन गरौं भन्ने सुझाव आएको जानकारी दिँदै भने,“त्यसपछि सरकारको कार्यढांचाअनुसार पालिकाभरिका विद्यालय खुलेका छन् । मंसिर ७ गतेदेखि भौतिक उपस्थितिमा कक्षा संचालन भएको छ । विद्यालयमा अनमीसमेत राखेर स्वास्थ्य जाँच गर्ने गरिरहेका छौं ।”

इटहरी उपमहानगरपालिकाकी शिक्षा शाखा प्रमुख अम्बिका कुमारी साहले नगरक्षेत्रमा अनलाइन पठन पाठन, रोडियो र टेलिभिजन कक्षापछि अब भौतिक उपस्थितिमै कक्षा चलाउने तयारी रहेको बताइन् । भनिन्,“कार्ययोजना र तयारीको विषयमा विद्यालयसंग मागेर कक्षा चलाउने तयारी छ ।”शिक्षा पत्रकार समूह एक नम्बर प्रदेशले सामुदायिक विद्यालय संचालनको तयारी र समस्याको विषयमा आइतबार आयोजना गरेको भर्चुअल छलफलमा एकनम्बर प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकी विकल्प अपनाएर विद्यालय संचालन गर्न सकिने विषयमा प्रदेश सरकारले समेत सम्बन्धित पालिकाहरुसंग समन्वय गर्ने काम गरेको जानकारी दिएका छन् । भने,“विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाले प्रस्ट पारेको छ । स्थानीय तहले बनाउने हो । कार्यक्रम सञ्चालन गर्ने तयारी छ । हेलो विद्यार्थी कार्यक्रममा प्रदेश सरकारले पनि केही निश्चित पालिकाहरुलाई सहयोग गरेको छ ।”

प्रदेश एकका हिमाली र पहाडी जिल्ला भन्दा तराइका झापा, मोरङ अनि सुनसरीमा अधिक कोरोना संक्रमण फैलिएको छ । ती जिल्लाका विद्यालय सञ्चालन गर्ने विषयमा कतिपय पालिकाहरुमा अझै अन्योल छ । शैक्षिकसत्र नै सकिन लागेको अवस्थामा कतिपय पालिकाले कार्ययोजनासमेत बनाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]