सप्तरी- सभामुख अग्नि सापकोटाले राजनीतिक दलहरुमा लोकतन्त्रको अभ्यास हुन नसकेको बताएका छन्।
उनले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको पनि कमी रहेको बताए । शुक्रबार संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनमुखी विधेयक निर्माणमा विज्ञताको कमी अनुभत भएको बताएका हुन् । प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउन आवश्यक रहेको उनको भनाई छ। उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनु पर्छ। प्रदेश र संघलाई एकाकार गरेर नै कानुन बनाउन आवश्यक छ । त्यसका लागि दलहरुमा प्रशिक्षणको कमी भएको छ। विज्ञको कमी छ ।
सांसदमा पनि त्याे विज्ञताकाे कमी देखिन्छ । त्यसकारण यसमा ध्यान दिनुपर्छ । पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभूति भएको छैन। पार्टीबाट सांसदहरूलाई राम्रो प्रशिक्षण भएको छैन।’