२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – बुटवलको खानेपानी समस्याको दीर्घकालीन समाधानका रूपमा लिइएको झुम्सा खोलामा खानेपानीका लागि व्यवस्थित र आधुनिक बाँध निर्माण शुरू भएको छ ।

बुटवल खानेपानी सुधार आयोजनाका रूपमा निर्माण हुने बाँध र इन्टेक ड्यामको नेपाल सरकारका अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले बिहीवार मुहानस्थलमै पुगेर शिलान्यास गरे ।नयाँ आयोजना अबको २ वर्षभित्र अर्थात् २०७९ जेठसम्म निर्माण पूरा हुने लक्ष्य लिइएको छ । मुलुककै नमूना आयोजनाका रूपमा लिइएको योजना तोकेको समयमै सम्पन्न नभएपछि र पहिलेको बाँध बाढीले भत्काएपछि अर्थमन्त्री एवं नेकपा महासचिव पौडेलले बिहीवार खानेपानी मन्त्रालयका सचिव, प्राविधिक, निर्माण कम्पनी, दुवै जिल्लाका जनप्रतिनिधि, नागरिक अगुवा समेतलाई मुहानमै लगेर साझा प्रतिबद्धता पनि गराए । बाँधसँगै मुख्य ट्रान्समिसन पाइप लाइनको पनि निर्माण सम्झौता भएर काम शुरू भएको छ । ५०० र २५० एमएमडीआईका पाइपलाई १३ किलोमिटर ५०० मिटरमा विस्तार गर्ने काम शुरू भएको छ । यो कामलाई पनि २०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ ।

बाँध लगायतका संरचनाको निर्माण लागत ७३ करोड ६४ लाख रुपैयाँ, पानी प्रशोधन प्रणाली, पानी भण्डारण ट्यांकी, वितरण प्रणाली निर्माणका लागि भने ५ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ सहित आयोजनाको कूल लागत ६ अर्ब ३५ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ । खानेपानी संस्थानका अधिकारी, राजनीतिक दलका विभिन्न तहका नेताहरू, नागरिक अगुवासहित पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने फिरफिरे घाटमा पुगेर अर्थमन्त्री पौडेलले सम्बन्धित निकायका अधिकारीलाई पानीजस्तो संवेदनशील वस्तुका लागि अब कुनै पनि प्रकारका अलमल स्वीकार्य नरहेको भन्दै तोकिएको समयमै काम सक्न निर्देशन दिए ।बुटवल रामफेदीदेखि करीब १३.५ किलोमिटर टाढा रहेको उक्त स्थानमा इन्टेक निर्माण गरेर पानीलाई २ वटा ठूला पाइपमार्फत बुटवलसम्म ल्याउने योजना छ । यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्टेक निर्माण गर्न लागिएको हो । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँधस्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ ।

झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलोमिटर पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । इन्टेक बगाएको स्थानमा यसअघि नै विशेष टोली लिएर निरीक्षण गरिसकेका नेता पौडेलले कमजोर संरचना र त्यसको क्षतिबारे विस्तृत अनुगमन एवं अध्ययन गरेर काम गर्न निर्देशन दिएपछि प्राविधिकले अहिलेको स्थान छनौट गरेका हुन् । पहिलेको स्थानबाट करीब ५०० मिटर पर अब बाँध बन्नेछ । बाढीले बगाएकोभन्दा केही माथिबाट अर्को इन्टेक निर्माणका लागि नेता पौडेलकै पहलमा हालको प्रक्रिया अगाडि बढेको खानेपानी आयोजना बुटवलका कार्यालय प्रमुख मोहनदत्त भट्टले जानकारी दिए । विक्रम संवत् २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै बिलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । बुटवलवासीलाई दैनिक ८० लाखदेखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार शुरू भएको खानेपानी आयोजनको मुहानदेखि ३ हजार २७० मिटर पाइप २० इन्च र त्यसपछि ५ किलोमिटर झुम्सा खोला पुलसम्म १० इन्चको पाइप बिच्छ्याइएको छ । यसमा अब नयाँ ढंगले १० इन्चको पाइप पनि मुहानदेखि रामफेदीसम्मै २० इन्चको पाइपसँगै बिछ्याइने छ ।

शुरूमा १९ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिइएको थियो । योजनाको बजेट अहिले १ अर्बसम्म पुगेको छ । यो रकम चालू आवमै खर्च गर्न सक्ने गरी विनियोजन समेत भइसकेको छ । बुटवलको मेलम्चीको रूपमा व्याख्या गर्दै आएको खानेपानी आयोजनको लागि नेकपा महासचिव तथा अर्थमन्त्री पौडेलको विशेष सक्रियता छ । बुटवल उपमहानगरपालिका र तिनाउ गाउँका बीचमा समन्वय, सहकार्य र आपसी सम्बन्ध अझ प्रगाढ बनाइने बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । अहिले बुटवलमा ३ करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर आपूर्ति भने २ देखि अढाई करोड लिटरसम्म हुने गरेको छ । हाल पनि दैनिक करीब ६० लाख लिटर पानी अपुग छ ।

तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबवेल (बोरिङ) बाट ८० लाख लिटर गरी खानेपानी आपूति गरिएको संस्थानले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]