
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले वाह्य शक्तिलाई खुसी पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल गरेको टिप्पणी गरेका छन् ।
उनले शनिबार ट्विट गर्दै आफूले केही दिन अघि व्यंगात्मकरूपमा गरेको ट्विटको पुष्टि भएको बताएका छन् । “प्रम केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाति काम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौं कूकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा व्यंगात्मकरूपमा ट्विट गरेको थिएँ । त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो । कामचलाउ प्रमको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ,” उनले लेखेका छन् ।
साथै दुईपटक संविधान सभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको उनले बताएका छन् । “यसमा रहेको लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस्,” रावलको माग छ ।रावलले प्रधानमन्त्रीले राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलाप गरिहरेको भन्दै देश, जनता र लोकतन्त्रलाई जोगाउन आह्वान पनि गरेका छन् ।
“प्रम केपीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितिमा पुगेका हौं । सबै देशभक्त लोकतन्त्रवादी एकजुट भएर देश, लोकतन्त्र र जनताको अधिकार र हितको रक्षाका लागि । अग्रसर होऔं,” उनले ट्विटमा भनेका छन् ।