
दार्चुला – दार्चुलाका दुई वटा स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने भएको छ । लेकम गाउँपालिका र व्याँस गाउँपालिकाका एक – एक ठाउँमा प्रहरी चौकी स्थापना हुने भएको हो ।
लेकम गाउँपालिकाको रातामाटा तथा व्याँस गाउँपालिकाको व्यासँ प्रहरी चौकी स्थापनाको तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि मनोहरप्रसाद भट्टले जानकारी सदए। यसका लागि गृह मन्त्रालयबाट उक्त क्षेत्रमा प्रहरी चौकी स्थापनाको लागि स्वीकृत भइसकेको छ । अहिले कोरोना महामारीका कारण काम अगाडि बढाउन ढिलाई भएको प्रहरीले जनाएको छ।दार्चुला जिल्लाका साविकको एउटा नगरपालिका र ३६ वटा गाविस रहेको दार्चुला जिल्लामा स्थानीय निकायको पुनर्संरचना गरिएपछि नौवटा स्थानीय तह निर्माण गरिएका छन्। नौवटै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेको छन् ।स्थानीय तहको संरचना कार्यान्वयन आइसकेको अवस्था भए पनि शान्तिसुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाल प्रहरीले भने नयाँ संरचना अनुसार आफ्नो व्यवस्थापन गर्न सकेको छैन।
विगतमा गाविसको संरचनालाई आधार बनाएर राखिएका प्रहरी युनिटहरु नयाँ संरचना अनुसार सार्न वा स्थापना गर्न सकिएको छैन।दार्चुलाका २९ स्थानमा नेपाल प्रहरीको युनिट रहेको छ। नयाँ संरचना अनुसार नौ वटै स्थानीय तहमा कम्तिमा एउटा प्रहरी युनिट रहेको छ। जिल्लाका कुल प्रहरी युनिटमध्ये झण्डै आधा अर्थात १० वटा युनिट महाकाली नगरपालिका क्षेत्रमा मात्रै छन् ।दार्चुला सदरमुकाममा मात्रै आठ स्थानमा प्रहरी युनिट छ ।जिल्ला प्रहरी कार्यालय, कारागार, सामुदायिक सेवा केन्द्र, पुलघाटमा प्रहरीको युनिट छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, ट्राफिक प्रहरी पोष्ट र जिल्ला अस्पतालमा पनि प्रहरी युनिट राखिएको छ ।
सदरमुकाम खलंगाबाहिर महाकाली नगरपालिका क्षेत्रको दत्तु र धापमा प्रहरी चौकी रहेको छ । दुहुँ गाउँपालिकाको ब्रह्मदेव र हिकिला प्रहरी चौकी छ भने अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा प्रहरी चौकी छ यस्तै जिल्लाकोे मार्मा गाँउपालिकाको लटिनाथमा इलाका प्रहरी कार्यालय रहेको छ।लटिनाथको इप्रकाले मार्मा गाँउपालिकाभरीको क्षेत्रमा शान्तिसुरक्षा हेर्दै आएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए। जिल्लाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा इलाका प्रहरी कार्यालय र बलाँचमा प्रहरी चौकी छ । नौगाड गाँउपालिकाको दल्लेख र सिप्टीमा चौकी छ भने लेकम गाँउपालिकाको रिठाचौपातामा इलाका प्रहरी कार्यालय र लालीमा सीमा प्रहरी चौकी रहेको छ ।
यता मालिकार्जुन गाँउपालिकाको मालिकार्जुन, शंकरपुर र जौलजीविमा प्रहरी चौकी छ। त्रिदेशीय सीमाक्षेत्र समेत रहेको व्यास गाँउपालिकामा ४ वटा प्रहरी युनिट छन्। हुतीमा इलाका प्रहरी कार्यालय तथा धौलाकोट र सुन्सेरामा प्रहरी चौकी रहेको छ। व्यासको सितापुलमा प्रहरी चौकी छ भने तिंकरमा सीमा प्रहरी चौकीको दरबन्दी रहेको छ। यद्यपि व्यासक्षेत्रमा एउटै प्रहरी कमाण्डरको नेतृत्वमा सितापुल र तिंकरमा प्रहरी बस्ने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।